काठमाडौं । नेकपा सांसद रमेश कुमार मल्लले गणेश नेपालीको आत्मदाहपछि उत्पन्न घटनाक्रम, मिडिया हाउसअगाडि शंकास्पद रूपमा गरिएको गाडी पार्किङ र नागरिकमाथि भएको भनिएको धरपकडबारे सरकारको ध्यान तान्न खोजेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मल्लले भने— करिब डेढ महिनादेखि प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट दिएको अभिव्यक्तिको विरोध भइरहेको छ, तर प्रधानमन्त्रीले अहिलेसम्म जवाफ दिएका छैनन् र संसद्बाट पनि आवश्यक कदम चालिएको छैन।
उनले २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहबाट भएको निधनले देशलाई नै स्तब्ध बनाएको उल्लेख गर्दै यस घटनालाई तोडमोड गर्ने प्रयास भइरहेको आरोप लगाए। पछिल्ला दिनमा काठमाडौंका विभिन्न स्थानमा सडक अवरोध, मिडिया हाउसअगाडि गाडी तेस्र्याउने तथा राजनीतिक गतिविधिका नाममा भएका घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्ने उनको माग थियो।
सांसद मल्लले प्रमुख प्रतिपक्ष दलका नेताको निवास खोज्दै जानेजस्ता गतिविधिलाई पनि गम्भीर विषयका रूपमा उठाए। उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई सामान्य जरिवाना मात्रै नभई कडा कारबाही गरिनुपर्ने धारणा राखे।
‘राज्यले त्रास र सन्त्रासको माध्यमबाट शासन सञ्चालन गर्न खोज्नु गलत हो। यस्ता गतिविधि गर्ने र योजना बनाउनेमाथि छिटोभन्दा छिटो छानबिन गरी कारबाही गरिनुपर्छ,’ उनले भने।
सांसद मल्लले सत्तारूढ दलले विज्ञप्ति जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने बताउँदै घटनालाई थप गम्भीर रूपमा लिन सरकारसँग आग्रह गरे।
