राजनिती

प्रतिनिधिसभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन पेस र विधेयक प्रस्तुत हुने

By अर्जुन भट्टराई •

प्रतिनिधिसभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन पेस र विधेयक प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने, विधेयक प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय सन्धिमाथि छलफल तथा अनुमोदन गर्नेलगायतका महत्त्वपूर्ण विषय कार्यसूचीमा रहेका छन्।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले न्याय परिषद्को वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२ र लोक सेवा आयोगको सड्सट्टीसौँ वार्षिक प्रतिवेदन (२०८१ श्रावण – २०८२ असार) सदनमा पेस गर्नेछिन्।

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र सो विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी कानुन मन्त्री गौतमले नै ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०६३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ माथि सदनमा छलफल गर्ने र सो प्रोटोकल अनुमोदन गर्ने प्रस्ताव पेस गर्नेछन्। साथै आईएलओकै श्रम निरीक्षण सम्बन्धी महासन्धीमाथि छलफल गर्ने प्रस्ताव पनि कार्यसूचीमा समावेश छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.