राजनिती

सञ्चारमाध्यम त्रसित बनाउने गतिविधिको रास्वपाद्वारा कडा भर्त्सना, सरकारसँग निष्पक्ष छानबिनको माग

By अर्जुन भट्टराई

सञ्चारमाध्यम त्रसित बनाउने गतिविधिको रास्वपाद्वारा कडा भर्त्सना, सरकारसँग निष्पक्ष छानबिनको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनालाई गम्भीरतापूर्वक लिएको छ।

सोमबार जारी विज्ञप्तिमार्फत रास्वपाले भन्यो — सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिने यस्ता गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत छन्। राज्यको चौथो अंगका रूपमा स्थापित सञ्चारमाध्यमले निर्भीक भएर काम गर्न पाउने वातावरणमाथि आँच आउने कुनै पनि प्रयास स्वीकार्य छैन।

पार्टीले प्रेस स्वतन्त्रता, नागरिकको सूचना पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा आफू सधैं दृढतापूर्वक उभिएको पनि स्पष्ट पारेको छ। जुनसुकै बहानामा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई कमजोर पार्ने सबै गतिविधि अस्वीकार्य रहेको विज्ञप्तिमा उल्लेख छ।

स्वतन्त्र र भयरहित पत्रकारितालाई लोकतन्त्रको प्राणवायु ठान्ने रास्वपाले यस्ता गतिविधिको कडा भर्त्सना गर्दै घटनाको तत्काल, निष्पक्ष र तथ्यपरक छानबिन गर्न सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ। साथै, यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न पनि आग्रह गरेको छ।

विज्ञप्तिको अन्त्यमा रास्वपाले सञ्चारकर्मीहरूलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिता गर्न प्रोत्साहन गर्दै सञ्चारकर्मी तथा सञ्चार गृहको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सधैं उभिने प्रतिबद्धता दोहोर्याएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.