राजनिती

संसद् बलियो बनाउन प्रतिपक्षको आवाज थप प्रभावकारी हुनुपर्छ : आङदेम्बे

By अर्जुन भट्टराई

संसद् बलियो बनाउन प्रतिपक्षको आवाज थप प्रभावकारी हुनुपर्छ : आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टीभित्रबाट प्रभावकारी आवाज उठ्न सके संसद् पनि थप बलियो बन्ने बताएका छन् ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले भने, ‘घरबाट बलियो आवाज आयो भने सदन पनि बलियो हुन्छ । कहीँ न कहीँ घरकै सदस्य कमजोर परिरहेका छन् । घरको सदस्यको ऊर्जा र विवेक घरबाटै आउने हो ।’

आङदेम्बेले कांग्रेसले प्रतिपक्षको भूमिका निराशाजनक रूपमा निर्वाह गरेको नभए पनि यसमा थप प्रभावकारिता ल्याउन आवश्यक रहेको बताए । साथै संसद् र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले पत्रकारहरूको भूमिकालाई ‘तेस्रो आँखा’सँग तुलना गर्दै भने, ‘संसद् हेर्ने पत्रकार साथीहरूको भूमिका तेस्रो आँखाजस्तै हुन्छ । उहाँहरूले हामीले नदेखेका धेरै कुरा देखिरहनुभएको हुन्छ ।’ पत्रकारहरूको दृष्टिकोण, सुझाव र आलोचनाले संसदीय अभ्यासलाई मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

संसदीय समितिहरूका विषयमा बोल्दै आङदेम्बेले भने, ‘संसदीय समितिहरू नै गम्भीर छलफल र निर्णयका मुख्य थलो हुन् । तर कतिपय अवस्थामा समितिहरूलाई प्रभावहीन बनाउने प्रयास भएको अनुभूति हुन्छ । संसद् र समितिको गरिमा कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’

उनले सभामुखले पनि पार्टीभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘सभामुख पार्टीको हुनुहुन्न, उहाँले आफ्नो भूमिकालाई बुझेर काम गर्नुपर्छ,’ उनले भने ।

प्रतिपक्षले पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्दै भूमिका निर्वाह गरिरहेको दाबी गर्दै आङदेम्बेले भने, ‘विगतका अभ्यासको समीक्षा इतिहासले गर्नेछ, तर अहिलेको आवश्यकता राष्ट्रिय हितमा केन्द्रित भएर अघि बढ्नु हो ।’

आङदेम्बेले आगामी दिनमा प्रतिपक्षको आवाजलाई थप प्रभावकारी बनाउने र सत्तापक्षलाई जिम्मेवार बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । साथै पार्टीका पदाधिकारीहरूले सञ्चारमाध्यमलाई समय दिएर संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने र व्यक्तिगत अभिव्यक्तिभन्दा दलको आधिकारिक धारणा प्रमुख सचेतक, सचेतक र नेतृत्वमार्फत आउनुपर्ने उनले बताए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.