काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरेको छ। परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको यस विभागले २०८३ साल असार २६ गतेदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको छ।
विभागले सोमबार जारी गरेको सूचनाअनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ।
विभागले भने पनि नयाँ प्रणालीको सुरुवाती चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता र राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने जानकारी दिएको छ। तर यस्तो अवस्था नयाँ प्रणाली सञ्चालनको शुरूमा स्वाभाविक भएको विभागको भनाइ छ।
सम्भावित समस्यालाई ध्यानमा राखी विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा तयारी अवस्थामा रहँदै प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिरहेका छन्। विभागले देखिने समस्याहरूको छिटो र दीर्घकालीन समाधान गर्न आफू पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको बताएको छ।
विभागले सेवाग्राहीलाई अनुरोध गर्दै नयाँ प्रणालीको सुरुवाती चरणमा राहदानी अत्यन्तै आवश्यक भएका व्यक्तिले मात्र आवेदन दिन भनेको छ। सेवाग्राहीको सहयोगले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विभागको विश्वास छ।
साथै राहदानी सेवासम्बन्धी जानकारीका लागि विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन पनि विभागले आग्रह गरेको छ। विभागले नेपाली नागरिकलाई चुस्त, छरितो र विश्वसनीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेको छ।
