काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल सम्झनुमा मात्र सीमित नराखी उहाँले देखाएको मार्गलाई व्यवहारमा उतारेर नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने आह्वान गरेका छन्।
सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित २१३औँ भानु जयन्ती विशेष समारोहमा बोल्दै सभामुख अर्यालले भानुभक्तको योगदान नेपाली समाज, भाषा र संस्कृतिका लागि ऐतिहासिक रहेको बताए। उनले यस अवसरलाई संकल्प लिने दिनका रूपमा लिँदै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउन सबैले प्रतिबद्ध हुनुपर्ने जोड दिए।
आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक परिवेशबीच पनि आफ्नो भाषा, संस्कृति र साहित्यको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उनले स्पष्ट पारे।
सभामुखले भने, ‘भानुभक्तले देखाएको मार्ग — सरलता, स्पष्टता र जनतासँगको निकटता — आज पनि उत्तिकै सान्दर्भिक छ। हामीले युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ। सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयअनुकूल रूपान्तरण गरेर अघि बढ्नुपर्छ।’
उनले भानुभक्त आचार्यको लेखनले नेपाली भाषालाई घर-घरमा पुर्याउँदै जनजनमा चेतना फैलाउने महत्त्वपूर्ण भूमिका निभाएको उल्लेख गरे। नेपाली भाषाले नेपालको सांस्कृतिक एकतालाई मात्र मजबुत नबनाई देश-विदेशमा छरिएका नेपालीलाई समेत एउटै भावनात्मक धागोमा जोड्ने काम गरिरहेको उनको भनाइ थियो।
सभामुख अर्यालले भाषालाई सञ्चारको माध्यम मात्र नभई मुलुकको पहिचान, संस्कृति र इतिहाससँग जोडिएको महत्त्वपूर्ण आधार भएको बताउँदै नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि राज्य, साहित्यकार, शिक्षण संस्था र नयाँ पुस्ताको संयुक्त प्रयास अपरिहार्य रहेको धारणा राखे।
