काठमाडौँ । सरकारले कर्णाली प्रदेशमा बारम्बार हुने विद्युत अवरोधको समस्या समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा यो निर्णय भएको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत आपूर्ति बाधित हुने गरेको थियो। मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावले यो समस्या झनै जटिल बनेको थियो।
करिब दुई साताअघि मन्त्री श्रेष्ठ तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनमा गएका थिए। त्यस क्रममा सुर्खेतलगायत कर्णाली प्रदेशमा यान्त्रिक क्रेनको अभाव रहेको जानकारी पाएका थिए। नेपाल विद्युत प्राधिकरणका कर्णाली प्रदेश प्रमुखले यो विषयमा मन्त्री श्रेष्ठको ध्यान आकर्षित गराएका थिए।
काठमाडौँ फर्केलगत्तै मन्त्री श्रेष्ठले यान्त्रिक क्रेन उपलब्ध गराउन सम्बन्धित नियामक निकायसँग समन्वय थालेका थिए। अब त्यो समन्वयले नतिजा दिँदैछ।
‘आवश्यक प्रक्रिया र सर्भिसिङ पूरा भएपछि नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन कर्णाली प्रदेशलाई उपलब्ध गराउने निर्णय भएको छ,’ मन्त्री श्रेष्ठले भने।
उनका अनुसार यो व्यवस्था भएपछि विद्युत सेवा अवरुद्ध हुँदा अन्य प्रदेशबाट उपकरण झिकाउनुपर्ने बाध्यता हट्नेछ र मर्मत कार्य थप छिटो तथा प्रभावकारी ढंगले हुनेछ। ‘सार्वजनिक सेवाका व्यावहारिक समस्या समाधान गर्ने प्रयास निरन्तर जारी छ,’ उनले थपे।
