राजनिती

राष्ट्रपति पौडेलद्वारा भानुजयन्तीको शुभकामना, भानुभक्तको योगदान अतुलनीय

By अर्जुन भट्टराई

राष्ट्रपति पौडेलद्वारा भानुजयन्तीको शुभकामना, भानुभक्तको योगदान अतुलनीय

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषाप्रेमीलाई हार्दिक शुभकामना दिएका छन्।

राष्ट्रपति पौडेलले जारी गरेको सन्देशमा भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पुर्‍याएको महत्वपूर्ण योगदानलाई स्मरण गरिएको छ। उनले भानुभक्तको योगदानले नेपाली भाषालाई जनताको भाषाका रूपमा स्थापित गर्न निर्णायक भूमिका खेलेको उल्लेख गरेका छन्।

तनहुँको चुँदीरम्घामा विसं १८७१ असार २९ गते पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् भनी राष्ट्रपतिले सम्झना गरेका छन्।

राष्ट्रपति पौडेलले भने— संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई सरल, शिष्ट र रोचक शैलीमा नेपालीमा अनुवाद गरेर भानुभक्तले नेपाली साहित्यको जग बसालेका हुन्। भानुभक्तीय रामायणले हिमाल, पहाड र तराईमा रहेका नेपालीबीच भावनात्मक एकता कायम गर्न र जनचेतना बढाउन महत्वपूर्ण भूमिका निभाएको छ।

नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्द्धनमा भानुभक्तको योगदान अतुलनीय रहेको र नेपालीभाषी समुदायबीच भाषिक एकता कायम गर्न उनले दिएको योगदान सदा स्मरणीय रहने राष्ट्रपतिको भनाइ छ।

साथै, भानुभक्तको जन्मस्थललाई साहित्यिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलका रूपमा विकास गर्न सकेमा उहाँप्रति सच्चा सम्मान हुने कुरा राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.