चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवनस्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण गरेकी छिन्।
निरीक्षणका क्रममा उनले केन्द्रको हालको अवस्था, पूर्वाधार र हात्ती संरक्षण तथा व्यवस्थापनसम्बन्धी जानकारी लिइन्। साथै, केन्द्रको समग्र सुधार र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक पूर्वाधार विकासका लागि सम्बन्धित निकायलाई निर्देशन दिइन्।
मन्त्री चौधरीले दीर्घकालीन रूपमा यस केन्द्रलाई ‘एलिफेन्ट सेन्चुरी’को रूपमा विकास गरी संरक्षण र पर्यावरणीय पर्यटनसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिइन्। प्राकृतिक वातावरणमा हात्ती संरक्षण, जैविक विविधताको संवर्द्धन र दिगो पर्यटन विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनले बताइन्।
मन्त्री चौधरीले हात्ती संरक्षण, पर्यावरण संरक्षण र पर्यटन विकासलाई एकीकृत रूपमा अगाडि बढाउँदै चितवनलाई अझ आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन्।
