काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनबाट हुन सक्ने विपद्को जोखिम घटाउन सम्बन्धित सबै निकायसँग समन्वय गर्दै तयारी तीव्र पारेको छ।
प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले आइतबार प्राधिकरणको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘असार ४ गते मन्त्रीको संयोजकत्वमा बसेको बैठकले दिएको निर्देशनअनुसार आज हामीले सबै क्लस्टरका लिडर, को–लिडर, सडक, सिँचाइलगायत सम्बन्धित निकायका महानिर्देशक तथा विपद् सम्पर्क व्यक्तिहरूलाई बोलाएर अहिलेसम्म भएका कामको विवरण लिएका छौं।’
उनका अनुसार बैठकबाट प्राप्त विवरण अब मन्त्रीसमक्ष पेश गरिनेछ। मनसुन अवधिमा सबै निकायलाई सतर्क र तयारी अवस्थामा राख्ने उद्देश्यले यो बैठक गरिएको उनले बताए।
कोइरालाले असार ५ गतेदेखि नेपालमा मनसुन प्रवेश गरिसकेको र अहिले मनसुन सक्रिय रहेको जानकारी दिए। जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक सतर्कता सूचना र एडभाइजरी जारी गर्दै आएको उनले बताए।
‘अहिले हामी पूर्णरूपमा मनसुन तयारीकै अवस्थामा छौँ। जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा हामीले पनि एडभाइजरी जारी गर्छौँ,’ उनले भने।
प्राधिकरणले आइतबार र सोमबार पूर्वी क्षेत्र तथा मधेसका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानका आधारमा सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेको छ।
कोइरालाले नागरिकलाई मौसमसम्बन्धी सूचना र प्राधिकरणको चेतावनीप्रति सजग रहन अपिल गर्दै भने, ‘जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी राम्रोसँग हेरेर त्यसअनुसार व्यवहार गरिदिनुभयो भने जनधनको क्षति न्यूनीकरण गर्ने अभियानमा ठूलो सहयोग पुग्छ।’
उनले वर्षाको सम्भावना र जोखिमको अवस्था हेरी आगामी दिनमा पनि आवश्यकताअनुसार एडभाइजरी जारी गरिने बताए।
