जनकपुर । मधेश प्रदेश सभामा विपक्षी दलहरुले निरन्तर अवरोध गर्दै आएको समस्या समाधान गर्न सर्वदलीय कार्यदल गठन गरिएको छ।
आजको बैठकमा सभामुख राम अशिष यादवले सात सदस्यीय यो कार्यदल गठन भएको जानकारी दिए। कार्यदलमा जसपा सांसद उपेन्द्र महतो, सांसद हरिन्द्र नारायण महतो, सांसद प्रमोद कुमार यादव, सांसद सञ्जय कुमार यादव, सांसद बिमला अन्सारी, सांसद सरिता कुमारी ठाकुर र सांसद जंगीलाल राय रहेका छन्।
सभामुखका अनुसार कार्यदलले आफ्नो कार्यविधि आफैँ बनाउनेछ। कार्यदलले आजकै दिनदेखि काम सुरु गर्नेछ भने भोलि सोमबार विहान यसको पहिलो औपचारिक बैठक बस्नेछ।
उल्लेखनीय छ, मधेश प्रदेश सभामा आगामी वर्षको बजेट प्रस्तुत भएदेखि नै विपक्षी दलहरु बजेटप्रति व्यापक असन्तुष्टि जनाउँदै बजेट पुनर्लेखनको माग राख्दै बैठक अवरुद्ध गर्दै आएका थिए। नवगठित कार्यदलले असन्तुष्ट दलहरुसँग समन्वय गर्दै बजेटमा रहेका त्रुटिहरु सच्याउन सहमतिको वातावरण बनाउने काम गर्नेछ। यसबीच प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
