राजनिती

अस्पताल फार्मेसीको बोर्ड परिवर्तनले मात्र पुग्दैन, दीर्घकालीन सुधार चाहिन्छ : प्रदीप पौडेल

By अर्जुन भट्टराई •

अस्पताल फार्मेसीको बोर्ड परिवर्तनले मात्र पुग्दैन, दीर्घकालीन सुधार चाहिन्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताल फार्मेसीको बोर्ड परिवर्तन गर्दैमा नागरिकले सस्तो र सहज रूपमा स्वास्थ्य सेवा तथा औषधि पाउने अवस्था नबन्ने बताएका छन्।

आइतबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले भने, ‘स्वास्थ्य क्षेत्रको रूपान्तरण दीर्घकालीन योजना र नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने व्यवहारिक समाधानको सम्मिश्रणबाट मात्र सम्भव हुन्छ।’

पौडेलले आफू स्वास्थ्यमन्त्री हुँदा गरिएका प्रयासहरूको जानकारी दिँदै भने कि त्यतिबेला सर्वसुलभ मूल्यमा औषधि उपलब्ध गराउन, देशभर औषधिको एकसमान मूल्य कायम गर्न र आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन केन्द्रीय स्तरमा बोलपत्र आह्वान गरी स्थानीय स्तरमा खरिद गर्ने व्यवस्था तयार पारिएको थियो। यस्तै, विज्ञहरूमार्फत जेनेरिक औषधिको मूल्य निर्धारण, मूल्य समायोजनसम्बन्धी नीतिगत व्यवस्था र अध्ययन प्रतिवेदन पनि तयार गरिएको उनले जानकारी दिए।

थप कुरा गर्दै पौडेलले भने कि औषधि, स्वास्थ्य सामग्री, कस्मेटिक तथा औषधिय गुण भएका अतिरिक्त खाद्यपोषण सामग्रीको नियमन र व्यवस्थापनका लागि नयाँ विधेयक र औषधिको स्वच्छ मूल्य निर्धारणसम्बन्धी निर्देशिका तयार गरेर सरोकारवाला मन्त्रालयमा राय लिन पठाइएको थियो।

उनका अनुसार बजेट निर्माण भइसकेकाले सोही आर्थिक वर्षमा सबै नीतिगत व्यवस्था लागू गर्न केही चुनौती थियो, तर त्यसपछिको बजेटमार्फत आवश्यक प्रबन्ध गरिएको थियो। तथापि, बदलिएको राजनीतिक परिस्थितिका कारण ती महत्त्वपूर्ण सुधारहरूले अपेक्षित गति लिन नसकेको उनले दाबी गरे। अन्त्यमा पूर्वमन्त्री पौडेलले वर्तमान सरकारलाई स्वास्थ्य क्षेत्रको प्रणालीगत सुधारमा गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.