राजनिती

चितवनमा हात्तीको आक्रमणमा परी ज्यान गुमाएका पीडितको घर पुगिन् मन्त्री चौधरी

By अर्जुन भट्टराई •

चितवनमा हात्तीको आक्रमणमा परी ज्यान गुमाएका पीडितको घर पुगिन् मन्त्री चौधरी

चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी चितवनमा वन्यजन्तुको आक्रमणबाट पीडित परिवारको घर पुगेर उनीहरूको दुःखमा सहभागी भइन् र सरकार पीडितको साथमा रहेको आश्वासन दिइन्।

२०८३ साल असार २० गते राति करिब ११ः३० बजे ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका–१ की स्थायी बासिन्दा तथा हाल भरतपुर महानगरपालिका–२३, बेलहट्टामा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको दुखद निधन भएको थियो। यस घटनाप्रति मन्त्री चौधरीले गहिरो दुःख व्यक्त गर्दै शोकमग्न परिवारप्रति समवेदना प्रकट गरिन्।

सोही क्रममा मन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका सूर्य महतो र मंगले बोटेसँग पनि भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाको जानकारी लिइन्। घाइतेहरूलाई जीविकोपार्जनका लागि प्रति व्यक्ति ५ लाख रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको पनि जानकारी दिइयो।

मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व घटाउनु सरकारको प्राथमिकतामा रहेको बताउँदै पीडितलाई समयमै राहत, उपचार र पुनर्स्थापना प्रभावकारी ढंगले सुनिश्चित गरिने प्रतिबद्धता जनाइन्। साथै यस्ता दुखद घटना भविष्यमा नदोहोरिन सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन र दीर्घकालीन समाधानका लागि ठोस योजना कार्यान्वयन गर्न निर्देशन दिइन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.