राजनिती

नेपाल अब दुई होइन, तीन ढुङ्गाबीचको तरुल बन्यो : परराष्ट्रविद् श्रेष्ठ

By अर्जुन भट्टराई

नेपाल अब दुई होइन, तीन ढुङ्गाबीचको तरुल बन्यो : परराष्ट्रविद् श्रेष्ठ

काठमाडौं । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको भूराजनीतिक अवस्था अझ जटिल बन्दै गएको बताएका छन् । उनका अनुसार नेपाल अहिले दुई ढुङ्गाबीचको तरुलबाट तीन ढुङ्गाबीचको तरुलमा परिणत भइसकेको छ ।

शनिबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको ‘नेपालको भूराजनीतिमा छिमेकी सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो धारणा राखे । अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि र नेपाली सेनाले एसपिपीका लागि सम्झौता अगाडि बढाएपछि नेपालको भूराजनीतिक अवस्था थप संवेदनशील बनेको उनले बताए ।

उनले भने, ‘साथीहरू पृथ्वीनारायण शाहलाई उद्धृत गर्दै नेपाल दुई ढुङ्गाबीचको तरुल भन्नुहुन्छ । तर म भन्छु— एमसिसी पास भएपछि र आर्मीले एसपिपी ल्याउने भनेपछि नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो । दुईवटा ल्यान्ड लेभल र एउटा स्काई लेभल ।’

श्रेष्ठले नेपाल कमजोर देखिए पनि यसको आफ्नै अस्तित्व र महत्त्व रहेको जोड दिए । यदि त्यो अस्तित्वमाथि चुनौती आयो भने छिमेकी मुलुकहरू पनि प्रभावित हुने उनले चेतावनी दिए ।

‘तरुल नरम र कोमल छ, तर यसको अस्तित्व मेटाउन खोजियो भने वरिपरिका ढुङ्गाहरू पनि आएर टुक्रा–टुक्रा पार्न सक्छन्,’ उनले भने ।

नेपालको भूराजनीतिमा सन्तुलित र शान्तिपूर्ण कूटनीति अपनाउनु अनिवार्य रहेको उनले बताए । नेपाललाई कुनै पनि शक्ति राष्ट्रबीचको द्वन्द्वको केन्द्र बनाउन नहुने उनको स्पष्ट मत थियो ।

‘नेपाललाई युद्धको केन्द्र बनाउनु हुँदैन । चीन विखण्डन गर्न चाहनेहरूको अखडा बनाउनु हुँदैन । नेपालको भूमिलाई द्वन्द्वको भूमि बन्न दिनु हुँदैन,’ श्रेष्ठले भने ।

उनले नेपाललाई शान्ति क्षेत्रका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्दै भने कि अमेरिका र चीन दुवैले यस अवधारणालाई समर्थन गर्छन् । भारत पनि आफ्नो प्रभाव क्षेत्रको सोचभन्दा माथि उठेर नेपाललाई शान्ति क्षेत्रका रूपमा समर्थन गर्ने बेला आइसकेको उनले बताए ।

‘चीन भारतभन्दा शक्तिशाली भएकाले नेपाल चीनतर्फ नझुकोस् भन्नका लागि पनि भारतले नेपाललाई शान्ति क्षेत्रको रूपमा समर्थन गर्नु उसकै हितमा छ,’ उनले थपे ।

कार्यक्रममा पूर्वराजदूत लीलामणि पौडेल, पूर्वराजदूत राजेश्वर आचार्य र पूर्व नेपाली राजदूत टंक कार्कीलगायत विज्ञहरू उपस्थित थिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.