काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनामा सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले गणेश नेपालीको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारसँग गहिरो समवेदना प्रकट गरे। उनले भने, ‘गणेश नेपालीको मृत्युले हामी सबैलाई स्तब्ध बनाएको छ। यो घटनाको गहिराइसम्म पुगेर सत्यतथ्य पत्ता लगाउन सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्छ। उहाँमाथि र परिवारमाथि कुनै अन्याय हुन दिँदैन भन्ने विश्वास लिएको छु।’
सांसद खरेलले यस अवसरमा नेपालमा बढ्दो आत्महत्याको समस्यालाई लिएर पनि गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार देशमा दिनहुँ १८ जनाले कुनै न कुनै तरिकाले ज्यान गुमाइरहेका छन् — कोही झुन्डिएर, कोही विष खाएर, कोही आत्मदाह गरेर त कोही हाम फालेर।
उनले थपे, ‘वर्षमा ७ हजार नेपालीले आत्महत्या गरिरहेको तथ्यांक हामीसँग छ। ३ करोड जनसंख्यामध्ये हाम्रो जीवनकालमा झन्डै ७० लाख नेपालीले कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या बेहोर्नुपर्ने अवस्था छ। २५ प्रतिशत जनता आफ्नो जीवनकालमा कुनै न कुनै समय मानसिक स्वास्थ्य समस्याबाट पीडित हुन्छन्।’
सांसद खरेलले मानसिक स्वास्थ्यलाई राज्यको प्राथमिकतामा राखी यससम्बन्धी नीति, कानुन, संरचना र सेवामा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले आत्महत्या रोकथामसम्बन्धी बहसलाई ठोस नीति र सेवासुविधासँग जोडेर अघि बढाउन सरकारसँग आग्रह गरे।
