काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले नागरिकबाट कर उठाउने तर सेवासुविधा भने नदिने गरेको आरोप लगाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले भने, ‘आजका नागरिकले औसत ४० प्रतिशतभन्दा बढी कर तिर्छन् । तर राज्यले के दिन्छ ? न शिक्षा निःशुल्क छ, न स्वास्थ्य निःशुल्क छ, न गतिलो बाटो छ, न पार्किङको व्यवस्था छ । कर लिएपछि त्यसको बदलामा सुविधा दिनुपर्छ ।’
उनले कर तिरेबापत सुविधा पाउनुको साटो नागरिकले दुःख, निराशा र आत्महत्यासम्म बेहोर्नुपरेको टिप्पणी गरे । गणेश नेपालीको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले यस्तो अवस्थाको जिम्मेवार राज्यको कमजोरी नै रहेको बताए ।
सांसद शाहीले गृहमन्त्रीको कार्यशैलीमाथि पनि कडा प्रश्न उठाए । उनका अनुसार गृहमन्त्री जनताको जीवन बचाउनेभन्दा मिडिया र प्रचारमा बढी व्यस्त देखिएका छन् ।
‘तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर हो ? हिजो गृहमन्त्री चलचित्रको नायकजस्तो मिडिया घेरेर कहिले विमानस्थल, कहिले कता दौडिरहनुभएको थियो,’ उनले भने ।
शाहीले थपे, ‘हामीलाई गृहमन्त्रीले कति भिडियो बनाउनुभयो, कति युट्युब चलाउनुभयो भन्ने मतलब छैन । महत्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बच्यो कि बचेन भन्ने हो ।’
उनको भनाइ छ — गृहमन्त्रीको प्राथमिकता भिडियो बनाउने होइन, नागरिकको जीवन रक्षा गर्ने हुनुपर्छ ।
