राजनिती

ठोरीमा भारतीय सवारीसाधनलाई अस्थायी पास व्यवस्था, संसदमा कांग्रेस सांसदको प्रश्नपछि खटाइए कर्मचारी

By अर्जुन भट्टराई •

ठोरीमा भारतीय सवारीसाधनलाई अस्थायी पास व्यवस्था, संसदमा कांग्रेस सांसदको प्रश्नपछि खटाइए कर्मचारी

काठमाडौं । पर्साको ठोरीमा भारतीय सवारीसाधनको प्रवेशमा लगाइएको रोक प्रतिनिधि सभामा उठेपछि तत्कालका लागि अस्थायी समाधान निकालिएको छ।

नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले असार २२ गतेको प्रतिनिधि सभा बैठकमा यो विषय उठाएकी थिइन्। उनले ठोरीको छोटी भन्सार कार्यालयमा कर्मचारी नभएकै कारण भारतीय पर्यटकका सवारीसाधन फर्काइएको भन्दै तत्काल कर्मचारी राखी भन्सार कार्यालय सञ्चालनमा ल्याउन र पर्यटकका सवारीसाधनलाई सहज प्रवेशको वातावरण बनाउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

त्यसको भोलिपल्ट अर्थात् असार २३ गतेदेखि वीरगन्ज भन्सार कार्यालयले ठोरीको छोटी भन्सार कार्यालयमा दुई जना कर्मचारी खटाएको छ। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत उदयसिंह विष्टका अनुसार एक जना सुब्बा तहका कर्मचारी र एक जना कार्यालय सहयोगी खटाइएका छन्।

‘ठोरीको छोटी भन्सारमा तत्कालका लागि दुई जना कर्मचारी खटाइएका छन्। त्यहीँबाट भारतीय सवारीसाधनलाई निःशुल्क रूपमा अस्थायी पास उपलब्ध गराइने व्यवस्था मिलाइएको छ,’ विष्टले जानकारी दिए।

हालका लागि यो पास पाएका सवारीसाधन ठोरी क्षेत्रमा मात्र सञ्चालन हुन सक्नेछन्। बाँकी विषयमा मन्त्रालयको निर्णयको प्रतीक्षा रहेको र यसबारे मन्त्रालयलाई पत्र पठाइसकिएको विष्टले बताए।

उल्लेखनीय छ, असार १९ गतेदेखि ठोरीमा सशस्त्र प्रहरीले ‘माथिको आदेश’ भन्दै भारतीय पर्यटकका सवारीसाधनको नेपाल प्रवेशमा रोक लगाएको थियो। यसको विरोधमा ठोरीका स्थानीय पर्यटन व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै निर्णय सच्याउन माग गरेका थिए।

ठोरी हाल मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा उदाउँदै गएको छ। यहाँ दर्जनौँ होटल तथा रिसोर्ट भारतीय पर्यटकलाई लक्षित गरी सञ्चालनमा छन् र सयौँ स्थानीयले रोजगारी पाएका छन्। दैनिक दुई सयभन्दा बढी निजी भारतीय सवारीसाधन मार्फत पर्यटकहरू ठोरी आउने गरेका छन्। तर सवारीसाधन प्रवेशमा रोक लागेपछि यहाँको पर्यटकीय गतिविधि पूर्णतः ठप्प भएको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.