काठमाडौं। नेकपा सांसद रमेश कुमार हमालले सरकारले विधि, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै अघि बढिरहेको आरोप लगाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हमालले सरकार तीव्र गतिमा अगाडि बढेको देखाउँदै संस्थागत प्रक्रियालाई भने वेवास्ता गरेको बताए।
‘सरकारले हाइवेमा एक्सप्रेस गाडी चलाएर अगाडि बढेको दाबी गरेको छ। विधि विधानको लेन मार्किङको उसलाई अनुभूति चाहिँदैन, रोड लाइटको वास्ता गर्नु पर्दैन,’ उनले व्यंग्यात्मक शैलीमा भने।
डिजिटलाइजेसन र अल्गोरिदमको चर्चा भइरहेको सन्दर्भमा हमालले सरकारको निर्णय प्रक्रियामाथि नै प्रश्न उठाए। ‘कतै त्यो गाडी अटो ड्राइभमा त छैन? सरकार प्रमुख सिटमा हुनुहुन्छ, तर त्यसको सफ्टवेयर, त्यसको अल्गोरिदम कसैद्वारा सञ्चालित त छैन?’ उनले सोधे।
सरकारले सुशासनको नाराका साथ सत्तामा आएको दाबी गरिए पनि व्यवहारमा प्रतिशोधपूर्ण शैली अपनाएको र नागरिकलाई आतंकित तुल्याउने गरेको उनको आरोप थियो।
‘कतिपय गतिविधि प्रतिशोध पूर्न हो कि भन्ने लाग्छ। संसद्मा हिजो पनि प्रश्न उठेको थियो — पहिला थुन्ने, पछि जे पर्छ त्यही हेर्ने। यही नीतिमा सरकार गइरहेको छ,’ उनले भने।
हमालले सरकार प्रमुखदेखि संसद्मा रहेका व्यक्तिसम्म सबै पारदर्शी र जवाफदेही हुनु नपर्ने जस्तो व्यवहार भइरहेको बताउँदै सुशासनका विषयमा गम्भीर प्रश्न उठेको औंल्याए। अन्तमा उनले सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताप्रति प्रतिबद्ध हुन आग्रह गरे।
