राजनिती

सर्लाहीमा बढ्दो अपराध: सांसद भण्डारीले संसदमा सरकारको ध्यान तानिन्

By अर्जुन भट्टराई •

सर्लाहीमा बढ्दो अपराध: सांसद भण्डारीले संसदमा सरकारको ध्यान तानिन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नितिमा भण्डारीले सर्लाही जिल्लामा शान्ति, सुरक्षा र कानुन व्यवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीमा पछिल्लो समय आपराधिक घटनाहरू बढेका र आम नागरिकले असुरक्षित महसुस गर्नुपर्ने अवस्था आइपुगेको बताइन् ।

उनले एक ठोस घटनाको उल्लेख गर्दै भनिन् — लालबन्दी नगरपालिका–७ बाट ९ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि तीन जनाको समूहले आक्रमण गरी लुटपाट गर्ने प्रयास गरेको र चार राउण्ड गोली समेत चलाइएको थियो । सांसद भण्डारीले यो घटना प्रहरी चौकीको नजिकै भएकोले झनै गम्भीर भएको बताइन् ।

त्यसैगरी उनले ईश्वरपुर–३ मा रामनरेश साहकी श्रीमतीमाथि भएको कुटपिटको घटना पनि सरकारको ध्यानमा ल्याइन् । जग्गामा पोल गाड्ने विषयमा विवाद उत्पन्न भएको र अदालतले रोक लगाइसकेको अवस्थामा समेत जबरजस्ती गरिएको उनको भनाइ थियो ।

“सर्लाहीमा कानुन व्यवस्थाको धज्जी उडाइएको छ। गोली चल्नु र कुटपिट हुनु अहिले सामान्य घटना जस्तो बन्दै गएको छ,” उनले संसदमा भनिन् ।

शान्ति र सुरक्षा कायम राख्नु राज्यको प्रथम दायित्व भएको स्मरण गराउँदै सांसद भण्डारीले गृहमन्त्रीतर्फ प्रश्न तेर्साइन् — पटक–पटक यस्ता घटना भइरहँदा पनि किन प्रभावकारी कारबाही हुन सकेको छैन ?

उनले अपराधमा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याई निष्पक्ष अनुसन्धान र कडा कारबाही गर्न सरकारसँग माग गरिन् । साथै सर्लाहीमा सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन र दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.