राजनिती

नयाँ शक्तिको उदय असन्तोषको परिणाम, दीर्घकाल टिक्दैन : शंकर पोखरेल

By अर्जुन भट्टराई

नयाँ शक्तिको उदय असन्तोषको परिणाम, दीर्घकाल टिक्दैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तन आर्थिक तथा सामाजिक असन्तोषको उपज भएको बताएका छन्। उनले भने— लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको जगमा उभिएका नयाँ राजनीतिक शक्तिहरू दीर्घकालसम्म टिक्न सक्दैनन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भने— पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नागरिकको जीवनस्तरमा सुधार आएको छ। तर सोही अनुपातमा आर्थिक वृद्धि र वैधानिक आम्दानी नबढ्दा जनमानसमा असन्तोष पनि बढ्दै गएको छ।

उनका अनुसार उपभोग बढे पनि त्यसलाई धान्ने आय नबढ्दा भ्रष्टाचार, कालोबजारी, अपराधीकरण, पैतृक सम्पत्तिको क्षय र वैदेशिक पलायन जस्ता समस्या झन् गहिरिएका छन्। जीवनस्तर र आम्दानीबीचको यही असन्तुलनले समाजमा निराशा जन्माएको उनको विश्लेषण छ।

पोखरेलले थपे— राज्यले यी समस्यालाई समयमै सम्बोधन गर्न नसक्दा पुराना राजनीतिक दलहरूप्रति जनतामा अविश्वास बढ्यो। आम निर्वाचन २०८२ मा मूलधारका दलहरूले देशभक्ति, विकास र सामाजिक सुरक्षाका एजेन्डा उठाए पनि मतदाताको अपेक्षा पूरा गर्न नसक्दा वैकल्पिक शक्तिहरूले जनसमर्थन पाएको उनको भनाइ छ।

सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारीका मुद्दालाई अगाडि राखेर नयाँ शक्तिहरूले जनमत आकर्षित गरेको उनले स्वीकार गरे। साथै, सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले नयाँ शक्तिको पक्षमा जनधारणा बनाउन मद्दत गर्यो र पुराना दलहरू त्यसको प्रतिवाद गर्न चुके भन्ने उनको टिप्पणी छ।

महासचिव पोखरेलले नेपालको यो राजनीतिक परिवर्तनमा भूराजनीतिक प्रभाव पनि रहेको दाबी गरेका छन्। उनले पुराना दलविरुद्ध र नयाँ शक्तिको पक्षमा जनमत निर्माण गर्न बाह्य चलखेल भएको आरोप लगाए। जेन्जी अभियानका नाममा भएका प्रदर्शनलाई जानाजान भिडन्तमा रूपान्तरण गरी जनआक्रोश उचाल्ने काम भएको र भदौ २३ र २४ गतेका घटनापछि भएको सत्ता परिवर्तनमा बाह्य हात रहेको उनको आरोप छ।

वर्तमान सरकारमाथि प्रहार गर्दै पोखरेलले भने— यो सरकारले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाबाट समस्या समाधान गर्नुभन्दा स्वेच्छाचारी र अधिनायकवादी शैली अपनाउन खोजेको छ। लोकतान्त्रिक आन्दोलनबाट परिपक्व बनिसकेको नेपाली समाजले यस्तो अभ्यास लामो समयसम्म स्वीकार गर्नेछैन।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.