काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपकराज बोहराले महाकाली सिँचाइ आयोजनालाई गति दिन भारतसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बोहराले कञ्चनपुरस्थित महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भए पनि भारतसँग कूटनीतिक पहलको अभावमा महाकाली नदीको पानी प्रयोग हुन नसकेको बताए।
उनले भने, ‘महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना हो, जुन मेरो निर्वाचन क्षेत्र कञ्चनपुरमा पर्छ। शारदा ब्यारेज हुँदै महाकाली नदीको पानी दुवै देशले प्रयोग गर्ने भनिएको भए पनि भारतसँग कूटनीतिक पहल नहुँदा हालसम्म पानी छोडिएको छैन।’
४८ किलोमिटर लामो यस आयोजनामध्ये हालसम्म करिब ३० किलोमिटरको काम सम्पन्न भइसकेको जानकारी दिँदै उनले पानी सञ्चालनका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतसँग पहल गर्न सरकारलाई आग्रह गरे।
यसका साथै बोहराले आयोजनाको अन्तिम बिन्दु कृष्णपुर–९ मा स्थानीय बासिन्दाको सहमति नलिईकन नहर निर्माण अघि बढाइएको विषयमा पनि सरकारको ध्यान खिचे।
उनले भने, ‘कृष्णपुर–९ मा नहरको अन्त्य हुन्छ। तर सीमांकन गर्दा स्थानीयलाई नहर चाहिन्छ कि चाहिँदैन भनेर सोधिएन। जनताको राय लिइएन।’
उनका अनुसार उक्त क्षेत्र वर्षाको समयमा डुबानमा पर्ने गर्छ र स्थानीय तहले सो क्षेत्रलाई आवासीय क्षेत्र घोषणा गरिसकेको छ। यस्तो अवस्थामा सरकारले त्यही क्षेत्रबाट नहर लैजान खोज्नु उचित नभएको उनको भनाइ छ।
उनले थपे, ‘स्थानीयले नहर चाहिँदैन भनिरहेका छन्। किन यो नहर आवश्यक छ भनेर सरकारले नै स्थानीयलाई बुझाउनुपर्छ।’
बोहराले सो क्षेत्रमा ऐलानी जग्गा र थोरै जमिन भएका नागरिक रहेकाले नहर निर्माणले उनीहरूको जग्गामा असर पर्ने डर रहेको उल्लेख गर्दै आयोजनाको आवश्यकताको औचित्य सरकारले स्पष्ट रूपमा पुष्टि गर्नुपर्ने बताए।
