काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा भइरहेको बताउँदै गहिरो चिन्ता व्यक्त गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले नेपालको १० वर्षे सशस्त्र द्वन्द्वमा ठूलो संख्यामा नागरिकले ज्यान गुमाएको स्मरण गराउँदै अहिले सडक दुर्घटनाबाट त्यसभन्दा बढी मानिसको मृत्यु भइरहेको बताए। उनका अनुसार देशमा सबैभन्दा बढी दुर्घटना हुने राजमार्गहरूमध्ये कर्णाली राजमार्ग एक हो।
उनले भने, ‘नेपालको इतिहासमा सबैभन्दा बढी नागरिकको ज्यान जाने समय १० वर्षे सशस्त्र आन्दोलनको थियो। त्यसभन्दा बढी नागरिकको ज्यान सडक दुर्घटनामा गएको छ। बढी दुर्घटना हुने सडकमध्ये कर्णाली राजमार्ग एक हो।’
सांसद पोखरेलका अनुसार राष्ट्रिय राजमार्ग नम्बर एन २०५८ अन्तर्गत पर्ने सुर्खेत–जुम्ला–खलङ्गा सडक खण्डको लम्बाइ करिब २४० किलोमिटर छ। सरकारी प्राविधिकहरूको अनुमानअनुसार उक्त सडकलाई दुई लेनमा विस्तार गर्न करिब २० अर्ब रुपैयाँ आवश्यक पर्छ। तर आगामी आर्थिक वर्षका लागि केवल १ अर्ब रुपैयाँ मात्र विनियोजन गरिएको छ।
उनले औंल्याए कि यही दरमा बजेट छुट्याइँदै गए यो सडकलाई दुई लेनमा स्तरोन्नति गर्न करिब २० वर्ष लाग्नेछ, जुन स्थानीय बासिन्दा र यात्रुका लागि गम्भीर सुरक्षा जोखिम बनिरहेको छ।
