राजनिती

नार्कले अहिलेसम्म स्पष्ट मार्गचित्र बनाउन सकेन: मन्त्री चौधरी

By अर्जुन भट्टराई

नार्कले अहिलेसम्म स्पष्ट मार्गचित्र बनाउन सकेन: मन्त्री चौधरी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वैज्ञानिकहरूलाई अब वरिष्ठताका आधारमा नभई कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा मात्र अवसर दिइने स्पष्ट पारेकी छन्।

नार्कका नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भनिन्, ‘सरकारले नेतृत्वको जिम्मेवारी दिँदा केवल वरिष्ठतालाई मात्र आधार मानेको छैन। कार्यसम्पादन, सुशासन कायम गर्ने क्षमता र नेतृत्व गर्ने दक्षताकै आधारमा जिम्मेवारी दिइनेछ।’

उनले इमानदार, मेहनती र नतिजामुखी वैज्ञानिकहरूले मात्र परिषद्को नेतृत्व गर्ने मौका पाउने बताउँदै यसमा कुनै दुविधा नरहेको पनि स्पष्ट पारिन्।

मन्त्री चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै आधुनिक प्रविधि र अनुसन्धानमा परिषद्ले अग्रणी भूमिका खेल्नुपर्ने अपेक्षा व्यक्त गरिन्। वैज्ञानिकहरूको सक्रिय सहभागिताले देशको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास पनि उनले व्यक्त गरिन्।

तथापि, मन्त्रीले परिषद्को वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भनिन्, ‘विगत केही वर्षदेखि परिषद् आन्तरिक जटिलता र संरचनागत समस्याका कारण आफ्नो अस्तित्वकै परीक्षाको घडिमा गुज्रिसकेको छ। मन्त्रालयले यसलाई उच्च प्राथमिकता दिँदै आए पनि आजसम्म परिषद्ले आफ्नो स्पष्ट मार्गचित्र कोर्न सकिराखेको छैन।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.