काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा खेल्ने आठ टोली तय भएका छन् । अन्तिम–१६ को खेलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध रोमाञ्चक पुनरागमन जित हासिल गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्यो भने स्विट्जरल्यान्डले कोलम्बियासँग गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा ४–३ ले जित दर्ता गर्दै आठ टोलीको समूहमा आफ्नो नाम जोड्यो।
अब उपाधिको दौडमा फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिनाजस्ता परम्परागत दाबेदारसँगै मोरक्को, बेल्जियम, नर्वे र स्विट्जरल्यान्डले पनि पहिलो पटक विश्वकप जित्ने सपना जीवित राखेका छन्।
फ्रान्स बनाम मोरक्को
पहिलो क्वार्टरफाइनलमा साविक उपविजेता फ्रान्सको भिडन्त मोरक्कोसँग हुनेछ। सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्को यसपटक पनि ठूलो उलटफेर गर्ने लक्ष्यमा उत्रिनेछ। फ्रान्सका कप्तान किलियन एमबाप्पे प्रतियोगितामा उत्कृष्ट लयमा छन् र हालसम्म १९ गोल गरिसकेका छन्। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको २१ गोलको कीर्तिमानलाई पछ्याउने मौका पनि उनीसँग छ। यो खेल नेपाली समयअनुसार असार २६ गते विहान १:४५ बजे बोस्टन स्टेडियममा हुनेछ।
स्पेन बनाम बेल्जियम
दोस्रो क्वार्टरफाइनलमा सन् २०१० का विश्वविजेता स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ। लामिन यामाल, पेड्री, गाभी, रोड्री र निको विलियम्सजस्ता प्रतिभाशाली युवा खेलाडीमा भर परेको स्पेन उपाधि यात्रा जारी राख्न चाहन्छ। उता बेल्जियमका अनुभवी खेलाडी रोमेलु लुकाकु र केभिन डी ब्रुयनको नेतृत्वमा टोली पहिलो पटक विश्वकप जित्ने सपनासहित मैदानमा उत्रिनेछ। स्पेनका गोलकिपर उनाइ सिमोनले प्रतियोगितामा अहिलेसम्मका पाँचै खेलमा क्लिन सिट कायम राखेकाले बेल्जियमका लागि गोल गर्नु सहज हुनेछैन। यो खेल असार २७ गते विहान १२:४५ बजे लस एन्जल्स स्टेडियममा हुनेछ।
हालान्ड र केनको बहुप्रतीक्षित भिडन्त
तेस्रो क्वार्टरफाइनलमा नर्वे र इङ्ग्ल्यान्डबीच रोमाञ्चक भिडन्त हुनेछ। प्रतियोगितामा सात गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका नर्वेका एर्लिङ हालान्ड र छ गोल गरेका इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनबीचको प्रतिस्पर्धा यस विश्वकपको सबैभन्दा आकर्षक द्वन्द्वका रूपमा हेरिएको छ। इङ्ग्ल्यान्डका युवा स्टार जुड बेलिङ्घमले पनि चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिसकेका छन्। यो खेल असार २८ गते विहान २:४५ बजे मायामी स्टेडियममा हुनेछ।
अर्जेन्टिना बनाम स्विट्जरल्यान्ड
चौथो क्वार्टरफाइनलमा लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाको सामना स्विट्जरल्यान्डसँग हुनेछ। अन्तिम–१६ मा इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गरेर जित हासिल गरेको अर्जेन्टिना अब सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ। अर्कातिर स्विट्जरल्यान्ड ७२ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो र उसले अर्जेन्टिनालाई कडा चुनौती दिने तयारी गरेको छ। यो खेल असार २८ गते विहान ६:४५ बजे कान्सास सिटी स्टेडियममा हुनेछ।
