काठमाडौं। बुधबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतका तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ। आज कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठकहरू सिंहदरबारमा हुनेछन्।
बिहान ९ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा कानुन, न्याय तथा मानव अधिकार समितिको छैटौँ बैठक बस्नेछ। उक्त बैठकमा मुलुकमा मानव अधिकारको वर्तमान अवस्था, समस्या तथा संवर्धनमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिकाबारे आयोगसँग छलफल हुनेछ। साथै बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ पनि पेस गरिनेछ।
पूर्वाधार विकास समितिको बैठक भने बिहान ८ बजे सिंहदरबारस्थित बैठक कक्षमा बस्नेछ। यस बैठकमा मुलुकभरको खानेपानी व्यवस्थापनसम्बन्धी विषयमा छलफल हुनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ः३० बजे समितिको बैठक कक्षमा बस्नेछ। यस बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्री र सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कार्यकारी निर्देशक, तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका विषय विज्ञ डा. गोपाल चौधरीलाई आमन्त्रण गरिएको छ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गरिनेछ।
