काठमाडौं । आज सोमबार चार वटा संसदीय समितिका बैठक बस्ने भएका छन् । यी समितिहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समिति रहेका छन् ।
बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका विषयसहित अन्य समसामयिक मुद्दाहरूमा समितिलाई जानकारी गराइनेछ ।
बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुनेछ ।
सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ९ बजे नै बस्नेछ । सो बैठकमा समितिको आन्तरिक कार्यविधि पारित गर्ने र बेरुजु छलफल उपसमिति गठन गर्ने विषयमा छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक भने दिउँसो २ बजे बस्नेछ । यस बैठकमा राष्ट्रिय महिला आयोगको कामकारबाही र प्रगतिका विषयमा आयोगका पदाधिकारीहरूसँग छलफल गरिनेछ ।
