खेलकुद

राष्ट्रिय टोलीको भविष्यबारे हतारमा निर्णय गर्दिनँ : रोनाल्डो

By अर्जुन भट्टराई

राष्ट्रिय टोलीको भविष्यबारे हतारमा निर्णय गर्दिनँ : रोनाल्डो

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तिम फिफा विश्वकप ट्रफीबिनै सकिएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । तर पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो भविष्यबारे भने भावनामा बगेर कुनै हतार निर्णय नगर्ने उनले स्पष्ट पारेका छन्।

राउण्ड अफ–१६ मा स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि पत्रकारहरूसँग कुरा गर्दै रोनाल्डोले भने, ‘यसरी विश्वकपबाट बाहिरिनुपर्दा साँच्चै दुःख लागेको छ । मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेँ, अन्तस्करण सफा छ । यो मेरो अन्तिम विश्वकप थियो । अब केही समय परिवारसँग बिताएर शान्त मनले भविष्यबारे सोच्नेछु, आवेगमा आएर कुनै निर्णय गर्नेछैन ।’

आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई सम्झँदै रोनाल्डोले भने, आफू फुटबलमा आउनु अघि पोर्चुगलले कुनै ठूलो उपाधि जित्न सकेको थिएन । उनले नेतृत्व गरेको टोलीले सन् २०१६ मा युइएफए युरोपियन च्याम्पियनसिप जितेको थियो भने दुई पटक युइएफए नेशन्स लिग पनि जितेको थियो । ‘मैले पोर्चुगलका लागि तीनवटा उपाधि जितेको छु । मेरो लागि २०१६ को युरो जित्नु विश्वकप जित्नुजत्तिकै ठूलो उपलब्धि हो,’ उनले थपे।

यता, पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले टोली छाड्ने घोषणा गरेका छन् । रोनाल्डोले मार्टिनेजको प्रशंसा गर्दै भने, ‘उनीसँग काम गर्न पाउँदा निकै खुसी लाग्यो । उनले पोर्चुगलका लागि गरेको योगदान साँच्चै प्रशंसायोग्य छ, उनको आगामी यात्राका लागि मेरो शुभकामना छ ।’

रोनाल्डोले विश्वकपबाट बाहिरिनु सधैं पीडादायी हुने बताउँदै पोर्चुगलले प्रतियोगिताभर राम्रो प्रदर्शन गरेको र खेलको नतिजा जुनसुकै टोलीको पक्षमा जान सक्ने अवस्था रहेको पनि उल्लेख गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.