काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षमा शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
सोमबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले भने, ‘आव २०८३/८४ को कुल राष्ट्रिय बजेट २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाखमध्ये शिक्षा तथा खेलकुद क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड ५० लाख विनियोजन गरिएको छ, जुन कुल बजेटको १०.२८ प्रतिशत हो ।’
उनले यो बजेट प्रतिशतका हिसाबले चालु आवको तुलनामा ०.४७ प्रतिशतले कम भए पनि परिमाणका हिसाबले भने सात अर्बले बढेको जानकारी दिए ।
क्षेत्रगत विनियोजनअनुसार विद्यालय शिक्षामा सबैभन्दा बढी ६९.४९ प्रतिशत, व्यवस्थापनमा १५.१७ प्रतिशत, उच्च शिक्षामा ११.०४ प्रतिशत, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा २.५६ प्रतिशत र खेलकुदमा १.७४ प्रतिशत बजेट छुट्टयाइएको छ ।
विद्यालय शिक्षामा विनियोजित एक खर्ब ५१ अर्ब ६९ करोड ७१ लाखमध्ये पूर्वाधार निर्माणका लागि १० अर्ब ४५ करोड २४ लाख ४ हजार छुट्टयाइएको छ । साथै, ७ हजार ६६० जनाका लागि सीप विकास तालिम र एसइई परीक्षा सञ्चालनका लागि प्रदेश तहमा ३५ करोड विनियोजन गरिएको उनले बताए ।
विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत प्रदेश तहका लागि विनियोजित ६२ करोड ४० लाखमध्ये भौतिक पूर्वाधारमा २७ करोड ६० लाख र शिक्षक तालिममा २७ करोड ५० लाख विनियोजन भएको उनले जानकारी दिए ।
गोरखा भूकम्पबाट प्रभावित १४ जिल्ला र पश्चिम नेपाल भूकम्पबाट प्रभावित बझाङ, जाजरकोट र रुकुम पश्चिम; र मनाङ र मुस्ताङ गरी १९ जिल्ला बाहेकका स्थानीय तहका विद्यार्थी सङ्ख्याका आधारमा विद्यालय भौतिक निर्माण अनुदानका लागि दुई अर्ब ३७ करोड दुई लाख छुट्टयाइएको मन्त्री पोखरेलले बताए ।
उनले विद्यालयको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि कार्यदल गठन भइसकेको र त्यो कार्यान्वयनमा आएपछि विद्यालय शिक्षामा सुधार हुने विश्वास सरकारलाई रहेको बताए ।
न्यून विद्यार्थी भएका विद्यालयलाई गाभ्ने वा तह घटाउने विषयमा भने मन्त्री पोखरेलले स्पष्ट पारे, ‘भौगोलिक दूरीसमेतलाई ख्याल गरेर कतिपय विद्यालयलाई साना विद्यालयका रूपमा रूपान्तरण गर्नुपर्छ भने कतिपयलाई गाभ्नुपर्ने हुन्छ । तर न्यून विद्यार्थी भएकै आधारमा एक जना विद्यार्थीको पनि शिक्षा पाउने अधिकार सरकारले कुण्ठित गर्ने छैन ।’
हाल आधारभूत तहको खुद भर्नादर ९७.७ प्रतिशत रहेको र शिक्षा पूरा गर्ने दर ७४ प्रतिशत रहेको जानकारी दिँदै उनले विद्यालयबाहिर रहेका बालबालिकाको विवरण सङ्कलन गरी लक्षित कार्यक्रम तय गर्न आगामी वर्ष कार्ययोजना बनाई कार्यान्वयनमा ल्याइने बताए ।
खेलकुदतर्फ मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम हुने, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको बताए । अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने व्यवस्था राष्ट्रिय खेलकुद विकास नियमावलीमा नै रहेको उनले स्मरण गराए ।
