राजनिती

पुस्तकमार्फत नेपाललाई समृद्ध बनाउने प्रस्ताव, पूर्व राज्यमन्त्री पाण्डेको पुस्तक विमोचन

By अर्जुन भट्टराई

पुस्तकमार्फत नेपाललाई समृद्ध बनाउने प्रस्ताव, पूर्व राज्यमन्त्री पाण्डेको पुस्तक विमोचन

काठमाडौं । पूर्व राज्यमन्त्री, उद्योगपति तथा समाजसेवी हरिप्रसाद पाण्डेद्वारा लिखित ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँः समृद्धि प्राप्त नगरि मर्ने छैनौं’ नामक पुस्तक सोमबार काठमाडौंमा सार्वजनिक भएको छ। मातृसेवा प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो।

पुस्तक विमोचनपछि बोल्दै लेखक पाण्डेले नेपाललाई आत्मनिर्भर र समृद्ध राष्ट्र बनाउन पुस्तकमार्फत विभिन्न व्यावहारिक प्रस्ताव अघि सारेको बताए। देशको गरिबी, परनिर्भरता र कमजोर अन्तर्राष्ट्रिय पहिचान अन्त्य गर्न प्रत्येक नेपालीले तीनवटा नियम राष्ट्रिय व्रतका रूपमा अपनाउनुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘स्वदेशी वस्तु र सम्भावनाको प्रयोग गरौँ, सकेसम्म कम खर्चमा जीवन चलाऔँ र सकेसम्म बढी प्रतिफल दिने कार्यमा संलग्न होऔँ — यो हरेक नेपालीले राष्ट्रिय रूपमा अँगाल्नुपर्छ। यो प्रस्ताव भावनात्मक लाग्न सक्छ, तर अध्याय १२ पढ्नुभयो भने यसको यथार्थ बुझिनेछ। अध्याय १३ मा राष्ट्रिय सहमति बनाएर गर्नुपर्ने केही कठोर कदमहरू पनि उल्लेख छन्।’

पुस्तकमाथि धारणा राख्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक अधिकारसँगै आर्थिक रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने बताए। राजनीतिक स्थिरता, सुशासन र दीर्घकालीन योजनाका आधारमा निजी, सार्वजनिक तथा सामुदायिक क्षेत्रको साझेदारीबाटै समृद्धि सम्भव हुने उनको धारणा थियो।

उनले भने, ‘हामी कृषि प्रधान अर्थतन्त्रबाट औद्योगिक र सेवा प्रधान अर्थतन्त्रमा जाने चरणमा छौँ। केही वर्ष वा दशकसम्म राजनीतिक स्थिरता, सुशासन र योजनाबद्ध ढंगले निजी, राज्य र सामुदायिक क्षेत्रलाई संविधानको मर्मअनुसार परिचालन गर्न सक्यौँ भने देश बन्छ।’

पत्रकार टिकाराम यात्रीले पुस्तकमा नेपालको समृद्धिका सम्भावित आधारहरूको राम्रो विश्लेषण भएको बताउँदै प्रविधिलाई केन्द्रमा नराखी समृद्धि हासिल गर्न कठिन हुने चेतावनी दिए। उनले भने, ‘आज विश्वका १०० सबैभन्दा ठूला कम्पनीमध्ये ५० भन्दा बढी प्रविधिसँग जोडिएका छन्। त्यसैले प्रविधिलाई बेवास्ता गरेर परम्परागत आधारले मात्रै भविष्य धान्न सक्दैन।’

पूर्वसांसद डा. चन्द्र भण्डारीले पुस्तकलाई अनुभवबाट प्राप्त ज्ञानको संग्रहका रूपमा व्याख्या गर्दै व्यावहारिक नेतृत्व र कार्यान्वयनको आवश्यकतामा जोड दिए। उनले भने, ‘यो पुस्तक ज्ञानको होइन, अनुभवबाट प्राप्त ज्ञानको संग्रह हो।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारी लगायतले पनि पुस्तकमाथि आफ्नो धारणा व्यक्त गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.