काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबारदेखि तीनदिने सातौं अन्तर्राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता सुरु भएको छ। पहिलो दिन प्राविधिक सेमिनारको आयोजना गरिएको थियो, जसको नेतृत्व विश्व सोतोकान कराँते महासङ्घका उप–मुख्य प्रशिक्षक तथा विशेष अतिथि तारो कासुयाले गरेका थिए।
नेपाल सोतोकान कराते सङ्घका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा सङ्घका महासचिव रञ्जन प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राखे भने प्रमुख सल्लाहकार विष्णुगोपाल श्रेष्ठले आफ्नो विचार प्रस्तुत गरे। राखेपका सदस्य–सचिव रामचरित्र मेहताले औपचारिक रूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए।
