राजनिती

ठोरी सीमा नाकाको समस्या तत्काल समाधान गर्न सांसद थपलियाको माग, सरकारको १०० दिनमा निराशाको आगो बढी बल्यो

By अर्जुन भट्टराई

ठोरी सीमा नाकाको समस्या तत्काल समाधान गर्न सांसद थपलियाको माग, सरकारको १०० दिनमा निराशाको आगो बढी बल्यो

काठमाडौं। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले पर्सा जिल्लाको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लागेको विषयमा सरकारको ध्यान तान्न खोजेकी छिन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थपलियाले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न समस्याहरू देखिन थालेको र त्यसको असर ठोरी नाकामा समेत परेको बताइन्।

उनले भनिन्, ‘ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लाग्दा पर्यटन व्यवसाय प्रभावित भएको छ। त्यहाँ भन्सार कार्यालयको भवन भए पनि आवश्यक कर्मचारीको व्यवस्था नहुँदा प्रशासनिक कमजोरीकै कारण यो समस्या सिर्जना भएको हो।’

उनले सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै ठोरी नाकाको समस्या तत्काल समाधान गर्न, आवश्यक कर्मचारीको व्यवस्था गर्न र सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन माग गरिन्।

सरकारको १०० दिनको कामकाजबारे पनि थपलियाले कडा टिप्पणी गरिन्। उनका अनुसार जनताले सरकारसँग ठूलो अपेक्षा राखेका थिए, तर एक सय दिनको समीक्षा गर्दा ‘आशाको दियो भन्दा निराशाको आगो बढी बलेको’ देखिएको छ।

‘सरकारले १०० बुँदे कार्यसूचीमार्फत सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता जनाएको थियो, तर व्यवहारमा जनताले त्यसको अनुभूति गर्न सकेका छैनन्। महँगी बढिरहेको छ, सेवा प्रवाहमा अपेक्षित सुधार देखिएको छैन र जेनजी आन्दोलनसँग भएको १० बुँदे सहमति कार्यान्वयनमा पनि सरकार गम्भीर देखिएको छैन। सुकुम्बासीहरू आज पनि सरकारको बाटो कुरेर बसिरहेका छन्,’ उनले भनिन्।

भ्रष्टाचारविरुद्ध कडा कारबाहीको आवश्यकता औंल्याउँदै थपलियाले भनिन् कि त्यस्तो कारबाही निष्पक्ष, प्रमाणमा आधारित र कानुनी प्रक्रिया अनुसार हुनुपर्छ। अन्यथा सुशासनको सन्देशभन्दा पूर्वाग्रहको आशंका बढ्ने खतरा रहने उनले स्पष्ट पारिन् र सरकारले नागरिकसँग प्रतिशोध लिन नमिल्ने समेत उनले बताइन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.