काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीमा भएको बस दुर्घटनालाई राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाडको परिणाम भएको बताएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन् — कर्णाली दुर्घटनाले सिंगो कर्णाली र देशलाई रुवाएको छ, तर यति लामो समय बितिसक्दा पनि राज्य संयन्त्रबाट घटनाको सम्पूर्ण विवरण र यथार्थ सार्वजनिक हुन नसक्नु अत्यन्तै दुःखद छ।
थापाले कर्णालीमा यस्ता दुर्घटना नयाँ नभएको उल्लेख गर्दै त्यहाँका सडकहरू अहिले ‘मृत्यु मार्ग’ बनिसकेको कडा टिप्पणी गरिन्। उनले भनिन्, ‘कर्णालीको सडकमा दिनहुँजसो रगत बगिरहेको छ। ती सडक आज सडक रहेनन्, मृत्यु मार्गजस्ता देखिएका छन्। अब कहिलेसम्म कर्णालीले यस्तो नियति भोग्नुपर्ने हो? हरेकपटक यात्रा गर्दा मानिसहरूले ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने यो कस्तो व्यवस्था हो?’
कर्णालीवासी सुरक्षित यात्राको अधिकारबाट वञ्चित रहेको भन्दै उनले चेतावनी दिइन् — राज्यले अब पनि गम्भीरता नदेखाए यस्ता घटना दोहोरिरहनेछन्।
उनले थपिन्, ‘के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो? के उनीहरूको निधारमा अकाल मृत्यु मात्रै लेखिएको छ? म यसलाई दुर्घटना भन्न तयार छैन। यो त राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाड हो।’
प्रमुख सचेतक थापाले कर्णाली राजमार्गको स्तरोन्नति गर्न, सडक सुरक्षा सुनिश्चित गर्न र यस्ता दुर्घटना रोक्न तत्काल ठोस कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
