काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनको नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्ने प्रयास भएमा त्यसको कडा विरोध गरिने चेतावनी दिएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रदेश खारेजीको विषयलाई आधार बनाएर संविधानका मूलभूत व्यवस्थामाथि छेडछाड गर्न खोज्नु उचित नहुने बताए।
उनले भने, ‘वर्तमान सरकारले संविधान संशोधनको नाममा प्रदेश खारेजीको बहाना बनाएर लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि छेडखानी गर्नु दुःसाहस हो।’
सांसद राईले संविधानमा सुनिश्चित गरिएको एकतिहाइ महिला प्रतिनिधित्वलाई बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने माग राखे। साथै, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु तथा अन्य पछाडि पारिएका समुदायका अधिकारलाई अझ प्रभावकारी बनाउने गरी संविधान संशोधन हुनुपर्ने उनले जोड दिए।
‘२०७२ मा जारी भएको संविधानमा यी समुदायका अधिकार जहाँ-जहाँ कुण्ठित भएका छन्, ती अधिकार पूरा गर्ने दिशामा सोचेर संविधान संशोधन गरियोस्,’ उनले भने।
उनले थपे, ‘संविधान संशोधनको नाममा लोकतन्त्रमाथि छेडखानी गरियो भने सिंहदरबारमा बस्ने शासकहरूविरुद्ध विरोध हुनेछ।’
