ब्रेकिङ

नेपाली कांग्रेसको १५औं महाधिवेशन हुने पेपरलेस, EVM लाई प्राथमिकता

By अर्जुन भट्टराई •

नेपाली कांग्रेसको १५औं महाधिवेशन हुने पेपरलेस, EVM लाई प्राथमिकता

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनमा परम्परागत मतपत्रको सट्टा प्रविधिको अधिकतम प्रयोग गर्ने निर्णय गरेको छ। यसअन्तर्गत निर्वाचन प्रक्रियालाई पूर्णरूपमा डिजिटल तथा पेपरलेस बनाउने र विद्युतीय मतदान मेसिन (EVM) लाई प्राथमिकता दिइनेछ।

आइतबार ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय निर्वाचन समितिको बैठक बस्यो। समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सञ्चालन गर्न यो निर्णय गरेको हो।

समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिँदै भने कि निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन ईभीएम वा अन्य डिजिटल प्रविधि अपनाइनेछ।

बैठकले गरेका प्रमुख निर्णयहरू:

१. १५औं महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्दै निर्वाचन प्रक्रियालाई पेपरलेस वा ईभीएम प्रविधिमार्फत सञ्चालन गर्ने।

२. निर्वाचन प्रक्रिया शुरु भएपछि लागू हुने आचारसंहिता केन्द्रीय कार्यसमितिलगायत सबै तह र निकायले पूर्णरूपमा पालना गर्नुपर्ने। विधानमा अन्यथा उल्लेख भएकोमा मात्र अपवाद हुनेछ।

३. काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सबै १५ निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकाहरूमा महिला कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृतको रूपमा प्राथमिकता दिइने।

४. स्वयंसेवकको रूपमा सहयोग गर्न कानुन व्यवसायी तथा अन्य पेशागत समूहलाई आह्वान गरी रोस्टर तयार गरिने र तिनीहरूलाई अभिमुखीकरण कार्यक्रममा सहभागी गराएर निर्वाचन अधिकृतको रूपमा खटाइने।

यी निर्णयहरू केन्द्रीय कार्यसमिति समक्ष जानकारीका लागि पेश गर्ने निर्णय समेत बैठकले गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.