जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेटमा व्यापक त्रुटि रहेको भन्दै विपक्षी दलहरूले यो बजेट कार्यान्वयन हुनै नसक्ने आरोप लगाएका छन्।
आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र जनमत पार्टीले मुख्यमन्त्री कृष्ण प्रसाद यादवमाथि एकपछि अर्को गम्भीर आरोप लगाए। सरकारले नीति तथा कार्यक्रममा प्रस्तुत गरेका एजेन्डाविपरीत कमिसनमुखी बजेट ल्याएको भन्दै प्रतिपक्षी दलहरूले बजेटमा सुधार नगरिएमा प्रदेश सभामा बजेट टेबल नै गर्न नदिने चेतावनी दिएका छन्।
पत्रकार सम्मेलनमा जसपा नेपालका सांसद उपेन्द्र महतोले मुख्यमन्त्री यादवले आफ्नै पालिकामा नियमविपरीत करोडौं रुपैयाँका साना-साना योजनाहरू राखेर अन्य पालिकाहरूलाई वेवास्ता गरेको आरोप लगाए। विशेष अनुदानको नाममा १३६ वटै पालिकामा एकैखालका योजनाहरू राखी भ्रष्टाचारको नियतले सेटिङका आधारमा बजेट ल्याइएको पनि महतोले दाबी गरे।
सांसद महतोले असार महिनामा मात्रै रौतहट पूर्वाधार कार्यालयले अर्बौं रुपैयाँको बोलपत्र आह्वान र स्वीकृत गरेकाले मुख्यमन्त्री यादवको क्षेत्रमा मात्र अर्बौंका योजनाहरू राखेर संघीयतालाई बदनाम गर्ने प्रयास भएको बताए। मुख्यमन्त्री यादवले रौतहटस्थित आफ्नो घर भएको पालिकामा करोडौंका अनावश्यक योजनाहरू राखेकोमा विपक्षी दलले कडा असन्तुष्टि व्यक्त गरेका छन्।
महतोका अनुसार अहिलेको बजेट अव्यवहारिक, असन्तुलित, निराशाजनक, दिशाहीन र भ्रष्टाचारलाई प्रोत्साहन दिने खालको छ। विपक्षी दलहरूले बजेट पुनर्लेखन नभएसम्म प्रदेश सभाको बैठकमा अवरोध गर्ने र बजेट पास हुन नदिने चेतावनी दिँदै प्रदेश तथा प्रदेशवासीको हक-हितका लागि समर्पित नयाँ बजेट ल्याउनुपर्ने र अहिलेको बजेट खारेज गर्नुपर्ने अडान लिएका छन्।
