काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वर्तमान सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै यो सरकार राष्ट्रिय स्वाधीनतामा असंवेदनशील र जनताप्रति अनुदार रहेको ठहर गरेको छ।
आइतबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले बालेन सरकारका कदमहरूले निम्न वर्गलाई पूर्णरूपमा निराश बनाएको दाबी गर्यो।
पार्टी अध्यक्ष सन्तोष परियारले सरकार राष्ट्रिय स्वाधीनता, सुशासन, आर्थिक सुधार र जनजीविकाका विषयमा असफल भएको आरोप लगाए। उनले भने, ‘यो सरकार नहुने विरुवाको खस्रो पात — यो कुरा १०० दिनले नै प्रष्ट देखाइसकेको छ।’
परियारका अनुसार सरकारले आर्थिक संकट समाधान, रोजगारी सिर्जना, उत्पादन वृद्धि, महँगी नियन्त्रण, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहमा कुनै उल्लेखनीय सुधार गर्न सकेको छैन। भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारका क्षेत्रमा पनि सरकार कमजोर देखिएको उनले बताए।
उनले थपे, ‘सुकुम्बासीलाई कुनै विकल्प नदिई उठीबास लगाइयो, सवारी सुरक्षाका नाममा जनतामाथि मारा जरिवाना थोपरियो — यी घटनाले यो सरकार तानाशाहीतिर उन्मुख भइसकेको प्रष्ट हुन्छ।’
पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिलाई आधार बनाउँदै बालेन सरकार पूर्णरूपमा राष्ट्रघाती रहेको आरोप लगाए।
पार्टीका युवा नेता जटिल कार्कीले सात दशकभन्दा लामो राजनीतिक संघर्ष, जनआन्दोलन र संविधानले स्थापित गरेका लोकतान्त्रिक मूल्य, समावेशिता, सामाजिक न्याय र संवैधानिक व्यवस्थालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।
