काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारको १०० दिने कार्यकालको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्।
कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ शीर्षकको कार्यक्रममा बोल्दै थापाले सरकारले जनताको जीवन (‘लाइफ’) भन्दा सामाजिक सञ्जालको ‘लाइक’लाई बढी प्राथमिकता दिएको आरोप लगाए।
उनले भने, ‘वर्तमान सरकारका लागि लाइफभन्दा लाइक महत्त्वपूर्ण बन्यो। सरकारले सोच्दा र निर्णय गर्दा कुनै पनि मान्छेको जीवनमा के फरक पर्छ भनेर सोच्न छाड्यो। बरु कति लाइक थपिन्छ भन्नेमा ध्यान केन्द्रित भयो। यो हाम्रो लागि चिन्ताको विषय हो।’
थापाले सरकारले राम्रो परिणाम दिनु जरुरी भए पनि त्यसका लागि कानुनी प्रक्रिया र विधि मिच्न नहुने स्पष्ट पारे। उनले वर्तमान सरकार ‘विधि र प्रक्रिया होइन, परिणाम मात्रै महत्त्वपूर्ण हो’ भन्ने सोचसहित अगाडि बढेको भन्दै चिन्ता व्यक्त गरे।
सम्पत्ति छानबिनका लागि गठित आयोगसम्बन्धमा थापाले कांग्रेस सहयोगका लागि तयार रहेको बताए। तर उनले सरकारलाई कार्यकारी आदेशको भरमा मात्र निर्णय नगरी कानुनले तोकेको प्रक्रिया पूरा गरेर अगाडि बढ्न आग्रह गरे।
उनले भने, ‘हामी सम्पत्ति छानबिन आयोगलाई विवरण बुझाउने प्रक्रियामा सहभागी हुन्छौँ। तर सरकारलाई हाम्रो आग्रह छ— कानुनले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्छ, कार्यकारी आदेशका भरमा यस्ता निर्णय गर्नु हुँदैन।’
