राजनिती

नयाँ राजनीतिक शक्ति बनाउने तयारीमा मिराज ढुंगाना, ‘एडभान्स डेमोक्रेसी’को पक्षमा बहस सुरु

By अर्जुन भट्टराई

नयाँ राजनीतिक शक्ति बनाउने तयारीमा मिराज ढुंगाना, ‘एडभान्स डेमोक्रेसी’को पक्षमा बहस सुरु

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा एउटा समूहले नयाँ राजनीतिक शक्ति निर्माणको तयारी गरिरहेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा ढुंगानाले चाँडै नै यसको औपचारिक घोषणा गरिने जानकारी दिए ।

ढुंगानाले बताए कि नयाँ शक्ति निर्माणका लागि विभिन्न क्षेत्रका व्यक्तिहरूसँग निरन्तर संवाद भइरहेको छ । जेनजी आन्दोलनपछि बनेको सरकारमा स्वास्थ्यमन्त्रीका रूपमा प्रस्ताव गरिएका डा. जगत विकलगायत ठूलो समूहले उनलाई साथ दिइरहेको छ ।

ढुंगानाले स्पष्ट पारे कि आगामी स्थानीय तह निर्वाचन हुनुअघि नै नयाँ राजनीतिक शक्ति बनिसक्नेछ र त्यसको तयारी तीव्र रूपमा भइरहेको छ । उनले यो पनि भने कि आफ्नो अगुवाइमा भएका आन्दोलनहरू मन्त्री बन्नका लागि नभई देशलाई नयाँ दिशा दिनका लागि थिए ।

विगतलाई सम्झँदै उनले भने, ‘हामी गत २१ फागुनको निर्वाचनलाई अलिकति पछाडि धकेल्न चाहन्थ्यौं । निर्वाचन ढिलो गरेर बृहत् वैचारिक संवाद गर्न र धेरै व्यक्तिलाई एकै ठाउँमा ल्याउन चाहन्थ्यौं । वलियो वैचारिक शक्ति निर्माण गर्नुपर्छ भन्ने हाम्रो सोच थियो । त्यो नभएपछि हामी निर्वाचनप्रति असन्तुष्ट भयौं ।’

जेनजी पुस्ताको आन्दोलन पुस्तान्तरणका लागि भएको बताउँदै उनले अब यस वहसलाई व्यवहारमा उतार्ने बेला आएको बताए । उनले भने, ‘आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि भनेको जनताको मनमा पुस्तान्तरण हुनुपर्छ भन्ने चेत जागेको हो । अब पुराना पार्टीहरू अगाडि आउने कुनै नैतिक धरातल छैन । योङ भर्सेज योङ हुनुपर्छ, योङ भर्सेज ओल्ड होइन । युवाहरूले नै देशलाई बाटो देखाउनुपर्छ भन्ने हाम्रो अभियान हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ को निर्वाचनमा ल्याएको नतिजालाई उनले ‘ल्यान्डस्लाइड भिक्ट्री’ भने । उनको भनाइ थियो कि पुराना पार्टीसँग जनताले अब सम्बन्धविच्छेद गर्नुपर्ने अवस्था आएको छ र रास्वपाको जनमतलाई पनि जनताले सधैँ चित्त बुझाउलान् भन्न सकिँदैन ।

उनले कुनै समय कांग्रेससँग आशा गरेको तर त्यो अनुभव गर्न नपाएको बताए । साथै, नेपालमा अब आफ्नै माटो सुहाउँदो विचार आवश्यक रहेको भन्दै उनले ‘एडभान्स डेमोक्रेसी’का पक्षमा बहस सुरु गरेको जानकारी दिए ।

सरकारको सय दिनको समीक्षाका सन्दर्भमा ढुंगानाले सरकार अझै सुरुवाती चरणमा रहेकाले तत्काल मूल्यांकन गर्नु उचित नहुने बताए । तथापि उनले सरकारले तयार गरेको सय बुँदे वाचापत्र हालसम्म ३०–४० प्रतिशत मात्र पूरा भएको बताए । बालेन्द्र शाह नेतृत्वको सरकारबारे अहिलेनै टिकाटिप्पणी गर्न नहुने पनि उनले स्पष्ट पारे ।

संघीय संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र अभिव्यक्तिबारे पनि ढुंगानाले प्रश्न उठाए । उनले भने, ‘लोकतान्त्रिक मुलुकमा प्रधानमन्त्री संसदमा जवाफदेही हुनुपर्छ । जनताले उहाँलाई निर्वाचित गरेर पठाएको हो, पार्टीको सभापति वा परराष्ट्रमन्त्रीले उहाँको तर्फबाट बोलुन् भनेर होइन । उहाँ आफैँ संसदमा आएर बोल्नुपर्छ ।’ प्रधानमन्त्रीका यस्ता गतिविधिले लोकतन्त्रलाई हानी पुर्याउने उनको भनाइ थियो र कूटनीतिक मर्यादाप्रति पनि सचेत रहनुपर्ने उनको सुझाव छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.