काठमाडौं। काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित गरिएका २ हजार ६०८ परिवारमध्ये हालसम्म ४६५ परिवारले मात्र पुनर्स्थापना राहतबापत २५ हजार रुपैयाँ पाएका छन्।
शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न आयोजित कार्यक्रममा पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले यो जानकारी दिए।
उनका अनुसार नदी किनारका जोखिमयुक्त बस्ती हटाउने अभियान २०८३ वैशाख ११ गते शहरी विकास मन्त्रालयले गरेको निर्णयका आधारमा सुरु भएको हो। अहिलेसम्म १७ वटा बस्तीबाट २ हजार ६०८ परिवार हटाइएका छन्, जसमध्ये २ हजार ३८८ परिवार सात वटा होल्डिङ सेन्टरमा बसिरहेका छन् भने बाँकी २२० परिवार बाहिर आफ्नै व्यवस्थामा छन्।
सहसचिव प्याकुरेलले भने, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार सुरुवाती व्यवस्थापन तथा पुनर्स्थापनाबापत प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ दिइँदै आएको छ। हालसम्म होल्डिङ सेन्टरमा रहेका २५४ परिवार र बाहिर रहेका २११ परिवार गरी जम्मा ४६५ परिवारले यो राहत रकम पाइसकेका छन्।’
उनले थपे कि अहिलेसम्म १ हजार ४८८ परिवारले डिजिटल इन्ट्री गरिसकेका छन् र अभिलेखीकरणपछि लाभग्राहीहरूको प्रमाणीकरण (भेरिफिकेसन) प्रक्रिया जारी छ। दीर्घकालीन पुनर्स्थापनाका लागि भूमि समस्या समाधान आयोगसँग समन्वय गरेर काम अघि बढाइरहेको पनि उनले जानकारी दिए।
