काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा हुँदा सरकारले आफ्ना उपलब्धिहरू सार्वजनिक गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यी उपलब्धिहरू सार्वजनिक गरे।
मन्त्री पोखरेलले भने कि सरकार गठनदेखि नै सार्वजनिक प्रशासनलाई प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले विभिन्न संरचनागत तथा कानुनी सुधारका काम अघि बढाइएका छन्।
**मन्त्रिपरिषद् र मन्त्रालय संख्यामा कटौती**
संविधानले २५ सदस्यसम्मको मन्त्रिपरिषद् गठन गर्न अनुमति दिए पनि सरकारले आफ्नो प्रतिबद्धताअनुसार मन्त्रिपरिषद्लाई १७ सदस्यमा मात्र सीमित राखेको छ। त्यसैगरी मन्त्रालयको संख्या घटाएर १८ मा सीमित गरिएको छ र नयाँ विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय थपिएको छ। यस कदमबाट राज्यलाई वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने सरकारको अनुमान रहेको मन्त्री पोखरेलले जानकारी दिए।
**निजामती सेवामा दलीय ट्रेड युनियन खारेज**
सार्वजनिक प्रशासनलाई निष्पक्ष र तटस्थ बनाउने उद्देश्यले सरकारले ‘केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश, २०८३’ ल्याएको छ। यस अध्यादेशमार्फत निजामती सेवा ऐन, २०४९ मा रहेको दलगत ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरिएको छ। मन्त्री पोखरेलले भने, ‘सार्वजनिक प्रशासनलाई प्रभावकारी, जवाफदेही र तटस्थ बनाउन दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश २०८३ ल्याएका थियौं। सो बमोजिम निजामती सेवा ऐन, २०४९ मा रहेको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरिएको छ।’
**सार्वजनिक खरिद प्रणालीमा सुधार**
सार्वजनिक खर्चको अधिकतम प्रतिफल सुनिश्चित गर्न सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ संघीय संसद्मा दर्ता गरिएको छ। यस विधेयकले खरिद प्रक्रियालाई थप पारदर्शी, स्वच्छ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। विधेयकमा मालसामान, औषधि तथा सूचना प्रविधिजस्ता अत्यावश्यक र संवेदनशील वस्तुको खरिदका लागि विशेष कार्यविधि अपनाउन सकिने व्यवस्था राखिएको छ।
**राहदानी घरदैलोमै पुर्याउने सेवा**
मन्त्री पोखरेलले हुम्ला र भोजपुर बाहेक ७५ वटा जिल्लामा राहदानी घरदैलोमै पुर्याउने व्यवस्था सुरु गरिएको जानकारी दिए। अहिलेसम्म २ लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पुर्याइएको छ, जसमध्ये ५ हजार ७२८ थान राहदानी सेवाग्राहीको घरदैलोमा पुगिसकेको उनले बताए।
