काठमाडौँ । सरकारले आफ्नो सय दिनको कार्यकालमा हासिल गरेका उपलब्धिहरू शनिबार (असार २०) सार्वजनिक गरेको छ। यस अवधिमा ६६६ बिचौलियालाई नियन्त्रणमा लिइएको सरकारले जनाएको छ।
सरकारका प्रवक्ता ससमित पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने कि सम्पत्ति छानबिन आयोगमा हालसम्म ११ हजार उजुरी प्राप्त भएका छन्। साथै, १० वटा सहकारी संस्थाहरूबाट पीडित बचतकर्तालाई २ करोड ६३ लाख ९० हजार रुपैयाँ फिर्ता गरिएको उनले बताए।
स्वास्थ्य क्षेत्रमा सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना गरेको जानकारी दिइएको छ। त्यस्तै, काठमाडौँका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको पनि पत्रकार सम्मेलनमा उल्लेख गरियो।
सेवा प्रवाहको क्षेत्रमा पनि उल्लेखनीय काम भएको सरकारको दाबी छ। हुलाकमार्फत २ लाख ६ हजार ३ सय ३० थान राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ढुवानी गरी नागरिकको घरदैलोसम्म पुर्याइएको छ। यसका अतिरिक्त २३ लाख ७५ हजार १ सय ८१ थान चालक अनुमतिपत्रको छपाइ पनि सम्पन्न भइसकेको जानकारी गराइएको छ।
