काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य हासिल गर्न संघर्ष, मेहनत र त्याग अनिवार्य रहेको बताएका छन्।
शनिबार बागमती प्रदेशस्तरीय पार्टी जागरण अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउन केही नगरी सबै कुरा आफैं हुन्छ भन्ने सोचले समृद्धि हासिल गर्न सकिँदैन। त्यस्तो नेपाल बनाउन चाहनेले पसिना नबगाइ, दुःख नगरी र जोखिम नमोली हुँदैन।’
उनले थपे, ‘भगवानले सबै आफैं गरिदिन्छन् भन्ने सोचले केही प्राप्त गर्न सकिँदैन।’ कुनै पनि राष्ट्र बिना मेहनत, जोखिम र मूल्य चुकाए समृद्ध बन्न नसक्ने उनको भनाइ थियो।
समाजमा शान्ति, समृद्धि र आधुनिक विकास आफैं आउँदैन, त्यसका लागि निरन्तर परिश्रम, समर्पण र संघर्ष गर्नुपर्ने ओलीले बताए।
अध्यक्ष ओलीले समृद्ध र समानतामूलक समाज निर्माणको बाटोमा विभिन्न अवरोधकारी प्रवृत्तिहरू सक्रिय रहेको पनि दाबी गरे। व्यक्तिगत स्वार्थलाई मात्र प्राथमिकता दिने र अरूको हितभन्दा आफ्नो लाभ मात्र खोज्ने मानसिकताले विकास र सामाजिक रूपान्तरणमा बाधा पुर्याएको उनले बताए। यस्ता प्रवृत्तिमा अहंकार, निर्ममता, धोका र षड्यन्त्र मात्र देखिने गरेको उनको भनाइ थियो।
