राजनिती

इन्धन मूल्य घटेपछि उपभोग्य वस्तुको मूल्य पनि घटाउन सरकारको आग्रह

By अर्जुन भट्टराई

इन्धन मूल्य घटेपछि उपभोग्य वस्तुको मूल्य पनि घटाउन सरकारको आग्रह

काठमाडौं । इन्धनको मूल्य घटेसँगै अब बजारमा पनि वस्तु तथा सेवाको मूल्य घट्नुपर्ने भन्दै सरकारले व्यवसायीहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार यस सम्बन्धी विज्ञप्ति जारी गरेको हो।

विभागका अनुसार मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएपछि नेपाल आयल निगमले असार १६ गतेदेखि इन्धनको मूल्य घटाएको छ। यसको प्रत्यक्ष लाभ उपभोक्तासम्म पुर्‍याउन बजारमा पनि वस्तु तथा सेवाको मूल्य घटाउन विभागले अनुरोध गरेको हो।

मन्त्री यादवले इन्धन सस्तो भएको फाइदा आम उपभोक्तासम्म पुग्नुपर्ने बताउँदै कृत्रिम मूल्यवृद्धि रोक्न र अत्यावश्यक वस्तु तथा सेवा सुपथ मूल्यमा उपलब्ध गराउन विभागलाई आवश्यक पहल गर्न निर्देशन दिएकी छन्।

सोही निर्देशनअनुसार विभागले खाद्यान्नलगायत सबै उपभोग्य वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन विक्रेता, व्यवसायी, ढुवानी व्यवसायी तथा सेवा प्रदायकलाई आग्रह गरेको छ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उपभोक्ताको अधिकार संरक्षण गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै इन्धनको मूल्य घटेको असर बजार मूल्यमा पनि देखिने गरी जिम्मेवार भूमिका निर्वाह गर्न सबै पक्षलाई आग्रह गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.