राजनिती

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

By अर्जुन भट्टराई •

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीमा राजनीतिक हस्तक्षेप नभई दलीयकरण भएको कडा टिप्पणी गरेका छन्। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक नियुक्ति र विद्यालय सञ्चालनमा दलगत प्रभाव हाबी हुँदा शिक्षा प्रणाली कमजोर बन्दै गएको उनको भनाइ छ।

शुक्रबार नेपाली कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘शैक्षिक उन्नयनका सामयिक उपायहरू’ विषयक ग्रिन टेबल कार्यक्रममा बोल्दै थापाले यस्तो बताए।

उनले काठमाडौं र दुर्गम जिल्लाका शैक्षिक समस्याहरू फरक–फरक रहेकाले नीति निर्माण गर्दा स्थानीय आवश्यकता र यथार्थलाई ध्यानमा राख्नुपर्ने जोड दिए। सर्लाही–४ मा मत माग्ने क्रममा विज्ञान र गणित शिक्षाको गुणस्तरबारे आफूले निरन्तर कुरा उठाए पनि त्यसले अपेक्षित जनचासो नपाएको उनले स्मरण गरे।

काठमाडौं–४ बाट सांसद रहँदाको अनुभव सुनाउँदै उनले भने, ‘हामी नेपालको शिक्षा प्रणालीको कुरा गर्छौं, तर काठमाडौं र सर्लाहीका शैक्षिक चुनौती एउटै छैनन्। एउटै नेपाल भए पनि दुवै ठाउँका समस्या फरक छन्। त्यसैले नीति बनाउँदा स्थानीय वास्तविकतालाई ध्यानमा राख्नुपर्छ।’

शिक्षकहरूलाई विद्यालयभित्र आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै थापाले भने, यसले नै समाज र लोकतन्त्रलाई सबैभन्दा ठूलो योगदान पुग्छ। शिक्षकहरूले आफ्नो भूमिकाभन्दा बाहिर गएर थप नेतृत्व प्रदर्शन गर्न सके देश र नेपाली कांग्रेस दुवैलाई लाभ पुग्ने उनको भनाइ थियो।

शिक्षाको उद्देश्यबारे राजनीतिक दलहरूबीच गम्भीर बहस जरुरी रहेको बताउँदै उनले भने, ‘शिक्षा किन र कसका लागि भन्ने विषयमा राजनीतिक दलहरूले नै स्पष्ट छलफल गर्नुपर्छ। यो जिम्मेवारी अरू कसैले पूरा गर्न सक्दैन।’

दलीयकरणको विषयमा उनले थप स्पष्ट पार्दै भने, ‘व्यवस्थापन समितिमा आफ्नै मान्छे, प्रधानाध्यापक पनि आफ्नै मान्छे भन्ने सोचले शिक्षा प्रणालीलाई सबैभन्दा ठूलो क्षति पुर्‍याएको छ। अब हाम्रो मान्छे भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ।’

उक्त कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद् डा. विष्णु कार्की र टिच फर नेपालकी सहसंस्थापक एवं सिईओ स्विस्तिका श्रेष्ठबीच पनि सामूहिक छलफल भएको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.