काठमाडौं। प्रतिनिधिसभाका एक सांसदले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग आग्रह गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बैंगलोरस्थित चन्द्रपुर अपार्टमेन्टमा काम गर्दै आएका बझाङको केदारस्युँ गाउँपालिका–४ निवासी विजयराज भट्टको कार्यस्थलमै कुटपिटबाट मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरे। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना दिए र सरकारलाई घटनाको गम्भीर छानबिन तथा आवश्यक कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराए।
सांसदले विजयराज भट्टको शव हाल बैंगलोरको सूर्य सिटी प्रहरी कार्यालयमा रहेको जानकारी दिँदै सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।
उनले दक्षिण भारतका विभिन्न राज्यमा करिब २० लाखभन्दा बढी नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी तथा पेशाकर्मी बसोबास गरिरहेको उल्लेख गरे। यी नेपालीहरू नागरिकता, राहदानी, श्रम विवाद, कानुनी सहायता, उद्धार, मृत्यु तथा दुर्घटना व्यवस्थापन, लगानी प्रवर्द्धन तथा सरकारी सेवामा पहुँचका सम्बन्धमा विभिन्न समस्या भोग्दै आएको उनले बताए।
सांसदका अनुसार दक्षिण भारतको प्रमुख आर्थिक तथा प्रवासी केन्द्रका रूपमा रहेको बैंगलोरमा नेपाल सरकारको आधिकारिक नियोग स्थापना गर्नु केवल कूटनीतिक सम्बन्ध विस्तारको मात्र विषय होइन, बरु विदेशमा रहेका नेपाली नागरिकप्रति राज्यको दायित्व र संरक्षण सुनिश्चित गर्ने विषय पनि हो।
उनले विदेशमा रहेका नेपालीलाई केवल रेमिट्यान्स पठाउने माध्यमका रूपमा नहेरी राष्ट्र निर्माणका साझेदार नागरिकका रूपमा सम्मान गर्नुपर्ने बताए। साथै, नागरिकले सामान्य सरकारी सेवाका लागि हजारौं किलोमिटर यात्रा गर्नुपर्ने अवस्था लोकतान्त्रिक शासन व्यवस्थाका लागि उपयुक्त नरहेको धारणा व्यक्त गरे।
“जहाँ नेपालीको ठूलो उपस्थिति, त्यहाँ नेपालको आधिकारिक उपस्थिति” भन्ने सिद्धान्त व्यवहारमा लागू गर्दै बैंगलोरमा नियोग स्थापनाका लागि आवश्यक कूटनीतिक, प्रशासनिक तथा नीतिगत पहल तत्काल अघि बढाउन उनले सरकारसँग माग गरे।
