राजनिती

सभामुख अर्यालसँग साउदी राजदूतको शिष्टाचार भेट, संसदीय सहकार्य र लगानीबारे छलफल

By अर्जुन भट्टराई •

सभामुख अर्यालसँग साउदी राजदूतको शिष्टाचार भेट, संसदीय सहकार्य र लगानीबारे छलफल

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत महामहिम फाहद मोहम्मद ए. मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा सभामुख अर्यालले नेपालको सङ्घीय संसद साउदी अरेबियाको शुरा काउन्सिलसँग रचनात्मक र संस्थागत सहकार्य गर्न इच्छुक रहेको बताए। उनले सङ्घीय संसदको हालैको निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै यस समूहले दुवै देशका संसदबीच पारस्परिक हितका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

सभामुख अर्यालले नेपाल र साउदी अरेबियाबीच श्रम आप्रवासको क्षेत्रमा बढ्दो सहकार्यप्रति सन्तोष व्यक्त गर्दै साउदी अरेबिया नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य मुलुक रहेको उल्लेख गरे। हाल साउदी अरेबियामा करिब ३ लाख ८४ हजार ८६५ नेपाली नागरिक कार्यरत रहेका छन्।

उनले मार्च २०२७ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने सन्दर्भमा स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको जानकारी दिए। यस ऐतिहासिक अवसरलाई अर्थपूर्ण कार्यक्रम र सहभागितामूलक गतिविधिमार्फत गरिमामय तथा स्मरणीय रूपमा मनाउने अपेक्षा पनि उनले व्यक्त गरे।

सभामुख अर्यालले नेपाल र साउदी अरेबियाबीच आर्थिक सहकार्य विस्तारका प्रशस्त सम्भावना रहेको बताउँदै पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि लगायतका क्षेत्रमा साउदी अरेबियासहित मित्रराष्ट्रहरूबाट थप लगानी र सहयोगको अपेक्षा रहेको बताए। साथै नेपालको प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी, समृद्ध संस्कृति र आतिथ्यभावका कारण नेपाल साउदी पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने उनले उल्लेख गरे।

सो अवसरमा राजदूत मनिखले नेपालसँगको सम्बन्धलाई साउदी अरेबियाले उच्च प्राथमिकतामा राखेको बताए। श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तारका क्षेत्रमा थप सहकार्य गर्न आफ्नो देश सदैव तयार रहेको धारणा उनले व्यक्त गरे।

उल्लेखनीय छ, नेपालले सन् १९७८ मा साउदी अरेबियामा आफ्नो राजदूतावास स्थापना गरेको थियो भने साउदी अरेबियाले सन् २०१२ मा नेपालमा राजदूतावास खोलेको हो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.