काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्टले बुधबार शिष्टाचार भेटवार्ता गरे। मन्त्रालयमा भएको यस भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, सञ्चार क्षेत्रको सुदृढीकरण, डिजिटल रूपान्तरण र संघीयताको प्रभावकारी कार्यान्वयनलगायतका विषयमा गहन छलफल भयो।
राजदूत अन्स्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य हुँदै आएको उल्लेख गर्दै भविष्यमा सहकार्य विस्तार गर्न सकिने क्षेत्रहरूमा चासो व्यक्त गरे। उनले लोकतन्त्रको आधारभूत मूल्यका रूपमा अभिव्यक्ति तथा विचार स्वतन्त्रताको संरक्षण अपरिहार्य रहेको बताउँदै पछिल्लो समय बढ्दो गलत सूचना (मिसइन्फर्मेसन) र दुष्प्रचार (डिसइन्फर्मेसन) विरुद्ध सबै पक्षको साझा प्रयास आवश्यक रहेको जोड दिए। साथै, अष्ट्रेलियाले नेपालमा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि आगामी दिनमा पनि प्राविधिक तथा संस्थागत सहयोग जारी राख्ने विश्वास व्यक्त गरे।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाललाई अष्ट्रेलियाले उपलब्ध गराउँदै आएको विकास सहायताप्रति धन्यवाद व्यक्त गर्दै यो सहयोग निरन्तर रहने अपेक्षा राखे। उनले अष्ट्रेलियाले नेपाली विद्यार्थीका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिनुका साथै थप नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको दायरा विस्तार गर्न आग्रह गरे।
मन्त्री तिमिल्सिनाले सरकारले हुलाक सेवाको आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै यस क्षेत्रमा अष्ट्रेलियाको अनुभव र प्राविधिक सहयोग आवश्यक रहेको बताए। डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने र सूचना प्रविधिमा आधारित सेवा प्रणाली विकास गर्ने कार्यमा सरकार सक्रिय रहेको उल्लेख गर्दै उनले डिजिटल रूपान्तरणमा पनि अष्ट्रेलियाको सहयोग अपेक्षित रहेको बताए।
मन्त्री तिमिल्सिनाले नेपाल मानवअधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै पत्रकारिता जिम्मेवार, उत्तरदायी, तथ्यपरक र व्यावसायिक हुनुपर्नेमा सरकारको जोड रहेको बताए। उनले पत्रकारको क्षमता अभिवृद्धि, डिजिटल पत्रकारिता र तथ्य परीक्षण (फ्याक्ट–चेकिङ) सम्बन्धी सीप विकासमा सरकारको विशेष ध्यान रहेको जानकारी दिए।
भेटवार्तामा शिक्षा, रोजगारी, पर्यटन, विकास साझेदारी तथा सांस्कृतिक आदानप्रदानमार्फत नेपाल–अष्ट्रेलिया जनस्तरको सम्बन्ध पछिल्ला वर्षहरूमा थप सुदृढ बन्दै गएको उल्लेख गर्दै दुवै पक्षले यसलाई अझ विस्तार गर्ने विषयमा समेत छलफल गरे।
