काठमाडौं। स्थानीय तहमा देखिएका समस्या समाधान गर्न र संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच महत्त्वपूर्ण छलफल भएको छ।
बैठकमा स्थानीय तहमा देखिएका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा र अन्य प्रशासनिक चुनौतीका विषयमा विस्तृत रूपमा छलफल गरियो।
मुख्यमन्त्री यादवले स्थानीय तहका समस्याबारे आफू पूर्ण रूपमा जानकार रहेको बताउँदै ती समस्या समाधानका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन गरेको जानकारी दिइन्। ती टोलीले पालिका प्रमुख, उपप्रमुख र सम्बन्धित पदाधिकारीसँग प्रत्यक्ष छलफल गरी स्थानीय तहका समस्या, आवश्यकता र चुनौतीको स्थलगत विवरण संकलन गरेको उनले बताइन्।
मन्त्री रावलले स्थानीय तहका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य भएको जोड दिँदै मन्त्रालयले स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमुखी बनाउन आफ्ना पहललाई निरन्तरता दिने बताइन्।
उक्त छलफलमा मन्त्रालयका सचिव, सहसचिव र प्रतिनिधि सभा सदस्य रहबर अन्सारी लगायत उपस्थित थिए।
