काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले कृषि क्षेत्रमा लगानी बढाउन, आधुनिक प्रविधि अपनाउन र किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गरेका छन्।
असार १५ को राष्ट्रिय धान दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले धान दिवसलाई नेपाली कृषि, संस्कृति र जनजीवनसँग जोडिएको महत्त्वपूर्ण पर्वको रूपमा उल्लेख गरे।
आङदेम्बेले भने कि गुणस्तरीय बीउ–बिजन, पर्याप्त मलखाद, भरपर्दो सिँचाइ र कृषि उपजको सुनिश्चित बजार व्यवस्था आजको मुख्य आवश्यकता हो। संविधानले प्रत्याभूत गरेको खाद्यसम्बन्धी हकको प्रभावकारी कार्यान्वयनका लागि उत्पादनमुखी कृषि प्रणाली र राज्यको सक्रिय लगानी अपरिहार्य रहेको उनले बताए।
उनले किसानहरूले अझै पनि समयमै मल, बीउ र सिँचाइ नपाउने तथा उत्पादनको उचित मूल्य नमिल्ने समस्या भोगिरहेको उल्लेख गर्दै यो अवस्था सुधार्न जरुरी रहेको जोड दिए।
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा थप चुनौती आएको बताउँदै आङदेम्बेले कृषि अनुसन्धान, जलवायुमैत्री प्रविधि, कृषि बीमा र उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए।
नेपाली कांग्रेस किसानको हक–हित संरक्षण, कृषि आधुनिकीकरण, खाद्य सुरक्षा र कृषिको दिगो विकासका लागि निरन्तर प्रतिबद्ध रहेको दाबी गर्दै उनले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
