राजनिती

रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवस देशव्यापी रूपमा मनाउने, यस प्रकार कार्यक्रमहरु हुने

By अर्जुन भट्टराई •

रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवस देशव्यापी रूपमा मनाउने, यस प्रकार कार्यक्रमहरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस देशव्यापी रूपमा मनाउने निर्णय गरेको छ। साउन १३ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले सन् १९९९ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठकले केन्द्रीय सदस्य तथा पार्टीका पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ मूल आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छै। आयोजक समितिमा केन्द्रीय सदस्य, सांसद तथा पार्टीका नेताहरू हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, मञ्जु सिंह, सागर भुसाल, जमुना शर्मा, अरविन शाह, हेमराज थापा, रोहन कार्की, मनिष खनाल, डा. नमिता यादव, नारदमणि बास्तोला, उदयनारायण सापकोटा, साजन शर्मा, किसानप्रसाद तिमल्सिना, राजु सुनार, शेख कसमुद्दिन, चन्दनकुमार ठाकुर, भरत केसीलगायत रहेका छन्। सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था पनि गरिएको छ। रास्वपाले पालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहमा युवा दिवसका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साउन १५ गते बसेको आयोजक समितिको पहिलो बैठकले प्रदेश सभापतिलाई युवा दिवस आयोजनाबारे पत्राचार गर्ने, प्रदेशस्तरीय समन्वयका लागि जिम्मेवारी तोक्ने तथा आवश्यक उपसमिति गठन गर्ने निर्णय गरेको छ। युवा दिवसका अवसरमा ’संसदसम्म युवाको आवाज’ अन्तरसंवाद कार्यक्रम, Inspiring Message Competition, राष्ट्रव्यापी सरसफाइ अभियान, खेलकुद, रक्तदान, अन्तरसंवाद, विभिन्न विषयमा छलफल तथा नीतिमन्थन लगायत कार्यक्रम आयोजना गर्नेबारे छलफल भएको र जिम्मेवारी पाएका सदस्यहरूले आवश्यक तयारी गरी आगामी बैठकमा विस्तृत कार्ययोजना प्रस्तुत गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.